भदौ ५, काठमाडौं । नेपाल पत्रकार महासंघले भदौ १ गते देखि लागु भएको मुलुकी ऐन (फौजदारी) संहिता तथा मुलुकी (देवानी) सहिंताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित लगाएको भन्दै भदौ १२ गतेदेखि २२ गतेसम्मको आन्दोलनका चरणहरु घोषणा गरेको छ ।
विज्ञप्ती
नेपाल पत्रकार महासंघले यही भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्दै अंकुश लगाउने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग राख्दै केन्द्र, प्रदेश र जिल्लास्तरमा भाद्र २२ गतेसम्मका लागि सञ्चालन गर्ने दबाबमूलक कार्यक्रम –
१. भाद्र १२ गतेसम्म केन्द्र, प्रदेश समिति र जिल्ला शाखाले संहिताका बुँदाहरु संशोधनका लागि महासंघका पूर्वसभापति/पूर्वअध्यक्ष, सम्पादक, मिडिया सञ्चालक, पत्रकारिता पेशासँग सम्बन्धित विभिन्न संघसंगठन, बार एसोसिएसनसँग सम्बन्धित कानुन व्यवसायी लगायत सरोकारवालासँग वृहत छलफल गर्ने र विभिन्न सञ्चारमाध्यमबाट संहिताका प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरुका विरुद्ध सञ्चार अभियान चलाउने ।
२. भाद्र १४ गतेसम्म छलफलबाट प्राप्त सुझावका आधारमा मुलुकी संहितामा देखिएका असहमतिका बुँदाहरु तयार पार्ने ।
३. भाद्र १६ गते : सबै प्रदेशमा मुलुकी संहिताका असहमतिका बुँदाहरुमाथि प्रदेशस्तरीय वृहत अन्तरक्रिया गर्ने ।
४. भाद्र २० गते : केन्द्र, प्रदेश र जिल्लामा ज्ञापनपत्र बुझाउने । केन्द्रमा सञ्चार र कानुन मन्त्रालय, प्रदेशमा प्रदेश सरकार र जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने ।
५. भाद्र २१ गते : संघीय संसद्मा रहेका सबै राजनीतिक दल र सभामुखलाई ध्यानाकर्षणपत्र बुझाउने ।
६. भाद्र २२ गते : नयाँबानेश्वरस्थित संघीय संसद् भवन बाहिर सञ्चार साधनहरुसहित सांकेतिक विरोध प्रदर्शन गर्ने ।
साथै, न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि र सरकारी र निजी सञ्चारमाध्यमबाट बिनाकारण निष्कासित पत्रकारको पुनर्वहाली लगायतका मुद्दामा श्रमजीवी हित प्रवद्र्धन समिति मार्फत् सम्बन्धित निकायहरुलाई दबाब दिने ।










प्रतिक्रिया दिनुहोस्