समाचार

आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा गरियो कर्फ्यू आदेश जारी



भदौ ७, कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै भएको आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा कर्फ्यू आदेश जारी गरिएको छ ।

भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको वास्तविक दोषी सार्वजनिक नगरेको भन्दै स्थानीयहरुले तेस्रो दिन बिहीबार पनि गरेको आन्दोलनले उग्ररुप लिएपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि भोलि बिहानसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालउ कञ्चनपुरले जनाएको छ ।

प्रशासनकाअनुसार आज अपरान्ह ३ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरएको हो । यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउदा ८ जना घाइते भएका छन् ।

आज कञ्चनपरको महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सन्तोष कुमार कठरिया, तेजराज भट्ट र अर्जुन भण्डारा घाइते भएका छन् । भण्डारालाई थप उपचारको लागि भारत पठाइएको छ भने सन्तोषकुमार कठरिया र तेजराज भट्टलाई पनि अस्पतालले रिफर गरिदिएको छ ।

प्रर्दशनमा प्रहरीसँगको झडपमा कृतप्रसाद भण्डारी, मनोज बुढा, सञ्जय खड्का, हर्क बहादुर पाल र महेशराज भट्ट पनि घाइते हुनुभएको छ ।