समाचार

नेपालकी ताराको तीन राष्ट्रिय कीर्तिमान



भदौ ११, काठमाडौं ।  १८औँ एशियाली खेलकूद अन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले अाइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भारवहन गरिन् ।

क्लिन एन्ड जर्कमा ९७ केजी र कूलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो । तीनै कीर्तिमान ताराले नेपालगञ्जमा गत जेठमा भएको एशियाली खेलकूदको छनोटमा राखेकी थिइन् । क्लिन एण्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भारवहन गरेकी थिइन् । ताराले दोस्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन् ।