भदौ ११, चितवन । स्थानीय तहमा तय गरिएको करको चर्को विरोध भइरहँदा भरतपुर महानगरपालिकाले वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य सँगै व्यक्तिगत घटना दर्ता निशुल्क गर्न भएको छ ।
महानगरले जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्धबिच्छेदजस्ता व्यक्तिगत घटना दर्ता निःशुल्क गरेको छ । कृषि प्रयोजनमा घर बहाल करमा एक प्रतिशत, आवासमा दुई प्रतिशत र व्यावसायिकमा १० प्रतिशत कर निर्धारण गरिएको छ । त्यस्तै पूँजी, लगानी, कारोवार, स्थानको आधारमा पहिलो पटकका लागि स्वघोषणा गर्न भनिएको हो । आउँदो आर्थिक वर्षबाट कारोबारको आधारमा कर तय हुनेछ । स्वघोषणा गर्दा कम गरेमा भने अर्को वर्ष थप कर तिर्नुपर्ने हुन्छ ।
ठूलो कारोवार गर्ने धेरै र थोरै कारोवार गर्नेले कम कर तिरे पुग्ने भन्दै श्रेणी विभाजन गरेर नगरवासीलाई मर्का नपर्ने गरी कर निर्धारण गरिएको, एउटै क्षेत्रमा छ वटासम्म श्रेणी विभाजन गरेर कर निर्धारण गरिएको महानगरपालिकाका प्रमुख रेणु दाहालले बताईन् ।
महानगरले गत आर्थिक वर्षमा रु ४९ करोड ११ लाख राजश्व सङ्कलन गरेको थियो । चालू आवमा रु ५६ करोड पु¥याउने लक्ष्य लिएको छ । १५ वडाबाट कर सङ्कलन गर्दै आएकोमा सेवाग्राहीलाई सहज र सरल सेवा प्रदान गर्नका लागि एक महिनाभित्रमा महानगरका २९ वडाबाट सङ्कलन गर्ने तयारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्