गृहका अनुसार बिमस्टेक सम्मेलनमा तीन सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना खटिनेछ । दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीको सुरक्षा हुनेछ ।
राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सिभिलमा तीनवटै घेरामा छरिएर रहन्छन् । सेना, प्रहरी र सशस्त्रका ‘इन्टेलिजेन्स’ टोली पनि सादा पोसाकमा खटिनेछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
यसबाहेक भिभिआइपीले आफूसँगै ल्याउने सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरू हतियारसहित हुनेछन् । तर, नेपाली सुरक्षाकर्मीकै योजनाअनुसार परिचालित हुन्छन् ।
सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बिमस्टेक सम्मेलनका लागि आवश्यक सुरक्षा प्रबन्ध पूरा भएको बताए । उनले भने, ‘भिभिआइपी र भिआइपीको सुरक्षा प्रबन्ध सेनाको कमान्डमा हुँदै आएको छ ।
यसपटक पनि सोही विधिअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । यसको संयोजन भने गृह मन्त्रालयबाट भएको छ । सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी राखिएको छैन ।’
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी मनोज न्यौपानेले सुरक्षा घेरा तीनभन्दा अझ धेरै पनि हुन सक्ने बताए । उनले भने, ‘सुरक्षा घेरा यति नै भन्ने हुँदैन । त्यो आवश्यकताले निर्धारण गर्ने हो । तीनभन्दा धेरै पनि हुन सक्छ । जे होस् हामी सुरक्षा प्रबन्धप्रति सचेत छौँ । आवश्यक सबै तयारी पूरा भएको छ ।’










प्रतिक्रिया दिनुहोस्