समाचार

शिशुको हत्याको विरोधमा महोत्तरीमा बजार र सडक बन्द



भदौ १३, महोत्तरी । आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासीले महोत्तरीमा बजार तथा सडक बन्द गरेका छन् ।

बन्दका कारण अहिले बर्दिवास-औरही-जलेश्वर सडक खण्ड अवरुद्ध भएको छ भने बजार पूर्ण रुपमा वन्द भएको छ । बन्दका कारण यातायातका साधनहरु चल्न सकेका छैनन् ।

औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनाली कुमारी गत आइतबार हराएकी थिइन् । शिशुको शव भोलिपल्ट भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा फेला परेको थियो । आफ्नै पसलबाटै भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहले शिशुलाई चोरेर लगेका हुन् । सीसीटिभी फुटेजमा साहले नै शिशुलाई बोकेर लगेको देखिएको प्रहरीले वताएको छ ।

यसरी सप्रमाण हुँदा हुँदै पनि प्रहरीले भरतलाई पक्रन नसकेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै आएका छन् ।