भदौ १४, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको सडक तथा संसदमा विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पारे । कुनै पनि कार्यलाई निश्चित विन्दुमा पर्याउन समय लाग्ने भन्दै सरकारले ल्याएका विकासमुखी योजनालाई साथ र सहयोग गर्नुपर्न बताए । वर्तमान संविधानमा केही कुराहरु परिवर्तन गर्नुपर्ने भन्दै अध्यक्ष थापाले सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
अध्यक्ष थापाले सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कार्य रोकेकामा सरकारप्रति गुनासो व्यक्त गरे । उनले विकास निमार्णका क्रममा बाधा अड्चन गर्ने जजो कोहीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने भन्दै सरकारले त्यसमा विशेष ध्यान दिनुपर्ने बताए ।
अध्यक्ष थापाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्