देश संघीय संरचनामा गएपछि सोही संरचनाका आधारमा विधान संशोधन हुँदै गर्दा कांग्रेसमा केन्द्रीय सभापतिलाई अझै बलियो बनाउने कि सामूहिक नेतृत्व प्रणालीमा लाने भन्नेमा बहस सुरु भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
विधान मस्यौदा समितिको बिहीबारको बैठकमा समितिकै सदस्यहरूले केन्द्रीय सभापतिदेखि सदस्यता वितरणको प्रक्रियासहितका विषयमा आ–आफ्ना तर्क राखेका छन् ।
सभापति शेरबहादुर देउवानिकट नेताहरू मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुरले यसअघि वितरण गरिएजस्तै साधारण र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने, पार्टीलाई क्याडरबेसमा लानुपर्ने, सदस्यतामा अझै कडाइ गर्नुपर्ने र कडा अनुशासनमा पार्टी चलाउनुपर्ने बताए । उनीहरूले सभापतिलाई थप बलियो बनाउन केन्द्रमा सभापतिबाहेकका पदाधिकारी मनोनीत गर्न पाउने आशय व्यक्त गरेका थिए ।
सदस्य महालक्ष्मी उपाध्याय डिनाले अहिलेको प्रणालीमा जाँदा सभापतिलाई आफूले चाहेजसरी काम गर्ने अवस्था नरहेको बताइन् । ‘सामूहिक नेतृत्व प्रणालीमा सभापतिलाई मात्रै दोष लगाउने भइरहेको छ । जोसुकै सभापति भए पनि समस्या यस्तै हुन्छ,’ उनले भनिन्, ‘पार्टीमा प्रभावकारी नतिजा दिने हो भने सभापतिलाई बाँध्न हुँदैन, कि सबै मनोनीत गर्नुपर्छ कि सबै पदाधिकारी निर्वाचित गर्नुपर्छ ।’
कांग्रेस केन्द्रमा सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुन्छन् । उपभापति, महामन्त्री र सहमहामन्त्री गरी तीनजना सभापतिबाट मनोनीत हुन्छन् । यस्तो हुँदा गुट र उपगुट मौलाएको कांग्रेसमा महाविधेशनबाट अलग गुटका नेता पदाधिकारी पुग्छन् । सभापति एउटा लाइनको हुँदा महामन्त्री अर्को गुटबाट जित्न सक्छ । यस्तो हुँदा सभापतिले काम गर्न नसक्ने मत एकथरी नेताहरूले गर्दै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्