भदौं १६, एजेन्सी । बुल्गेरियामा बस दुर्घटनामा मानवीय क्षति भएको भन्दै त्यहाँका सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला गरी तीन मन्त्रीले राजीनामा दिएका छन् ।
यातायात मन्त्री इभायलो मोस्कोभस्की, आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभ र क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार राजीनामा दिएका हुन् ।
पश्चिम बुल्गेरियाको राजधानी सोफियाबाट ५० किलोमिटरको दूरीमा पर्ने पश्चिम भागमा अघिल्लो शनिबार पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । १३ को घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको एपीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले बस चालकलाई मात्रै दुर्घटनाको दोषी देखाएको भए पनि त्यहाँको सरकारको चर्को आलोचना भएको थियो । आलोचनापछि बुल्गेरियाका प्रधानमन्त्री बोय बोरिसोभले ३ मन्त्रीलाई राजीनामा दिएर नैतिकता देखाउन निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्