Banner News

आज गौरा पर्वको मुख्य दिन, प्रदेश ७ मा विभिन्न कार्यक्रम गरी मनाइदै



भदौ १८, डडेल्धुरा । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी दिन गौराको पूजाआजा गरी प्रदेश ७ मा हर्षोल्लासका साथ मनाइँदै छ ।

प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरा बाहेक दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ ।

यो पर्व मनाउन व्रतालु महिलाले धान, साउँ, कुस, तील लगायतका बोटबिरुवा प्रयोग गरी तयार पारेको गौरा भगवतीको प्रतिमालाई धार्मिक अनुष्ठानका साथ आज गौरा भित्र्याएका हुन् । व्रतालु महिला सामूहिकरुपमा घर नजिकको खेतमा गई ‘फाग’ लगायतका गीत गाउँदै यो प्रतिमा तयार गर्दछन् ।

गौरा भित्र्याई सकेपछि व्रतालु महिलाले गौरी भगवती र महेश्वर (शिव) भगवान्को पूजाअर्चना गर्ने गर्दछन् । पूजामा विशेषगरी व्रतालु महिलाको सहभागिता हुन्छ । यसरी पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँचथरीका गोडागुडी)को विशेष महत्व रहेको छ । ‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रहेको स्थानीय चेतराज भट्ट बताउनुहुन्छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत रहेको छ ।

हिजो विधिपूर्वक भित्र्याइएको गौरा आज सोमबार बाहिर निकालिँदै छ । गौरा खेल्ने र पूजन गरिने सार्वजनिक ठाउँ, जसलार्इ गौरे-खलारखालो भनिन्छ । त्यहाँ गौरी(महेरश्वरको रुपमा बनाइएको प्रतीमालार्इ दिनभर महिलावर्गले पूजन गर्छन्, जसलार्इ ‘अठवालीरअठेवाली’ भनिन्छ । हिजै व्रतालु महिलाहरुले धागोमा सात गाँठा पारिएको विशेष सूत्र ‘सप्तुनरसप्तमी’ धारण गरेका छन् भने आज पनि बिहानैदेखि व्रत बसी दिनभरि गौरी(महेश्वरको पूजा गरेर बेलुकीपख ‘धुबधागो’ धारण गर्नेछन् ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।