समाचार

राँके बजारमा आगलागी : दुई करोड बराबरको क्षति



भदौ १८, पाँचथर । इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ ।

देउमाई नगरपालिका–१ का स्थानीय आगलागीबाट राँके बजारमा रहेको ठालुमान श्रेष्ठको पाँच तले घर, घरमा रहेको लत्ता कपडा अन्य जिन्सी मालसामान, जित बहादुर बस्नेतको किराना पसल र शिब बहादुर विष्टको जुत्ता चप्पल पसल पूर्णरुपमा जलेर नष्ट भएको हो ।

बेलुका करीब ८ बजे शुरु भएको आगलागी ११ बजे राती नियन्त्रणमा आएको थियो । पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मी समेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा दुई वटा एलपी ग्यास पड्किएको स्थानीय बासिन्दाले जानकारी दिए । पानी परेकाले पनि आगलागी नियन्त्रणमा सहज भएको बताइएको छ ।

विद्युत चुहिएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।