भदौ २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नागरिकको घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई आग्रह गरेका छन ।
१५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन ।
प्रधानमन्त्री ओलीले सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको साथै राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको स्मरण समेत गराए ।
‘वर्तमान सरकार यही अवस्था सिर्जना गर्न प्रतिबद्ध हुँदै समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ काम गर्न अग्रसर छ । जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता हो ।
प्रधानमन्त्री ओलीले भने, ‘निजामती कर्मचारीसँग विशेषज्ञता, व्यावसायिकता, सूचनामा पहुँच, स्थायित्व र निरन्तरताका साथै कानूनी र प्रक्रियागत जानकारीको अपेक्षा गरिन्छ । त्यसैले स्वपनदर्शी राजनीतिक नेतृत्व र व्यावसायिक कौशल, विज्ञता र इमान्दारीले भरिपूर्ण कर्मचारी प्रशासन लोकतन्त्रको जग हो । नेपाली जनताले यस्तै जगमा खडा भएको आदर्श र समग्र लोकतन्त्रको परिकल्पना गरेका छन् ।’










प्रतिक्रिया दिनुहोस्