राजनीति

जब्बरजस्ती करनीका पीडितलाई रोजगारी र आर्थिक सुरक्षा गर्न सांसदहरुको माग



भदौ २२, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले जब्बरजस्ती करनीका पीडितलाई रोजगारी र आर्थिक सुरक्षा गर्न  सरकारसँग माग गरेका छन ।

शुक्रबार राष्ट्रियसभा समितिको बैठकमा ‘अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा बोल्दै सदस्य बिमला राई पौडयालले जब्बरजस्ती करनीका पीडितलाई सामाजिक सुरक्षाका लागि पनि रोजगारी र आर्थिक सुरक्षाको ग्यारेन्टी हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् ।

तेस्तै  सदस्य रामनारायण बिडारीले अपराध अनुसन्धानका क्रममा मृत्यु भएमा उनका परिवारलाई पनि क्षतिपूर्ति दिने व्यवस्था कानुनमै गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । समितिका सदस्य प्रकाश पन्तले अपराधीको पनि मानव अधिकार हनन् नहुने गरी कानुनी उपचारको व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधेयकमा खुला ढंगले छलफल गरी आवश्यक सुझाव दिन समितिका सदस्यहरुसँग आग्रह गरेका थिए । उनले पीडितलाई न्याय दिने गरी कानुनी व्यवस्था गर्न सरकारले विधेयक ल्याएको पनि समितिलाई जानकारी गराएका थिए ।