भदौ २७, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वासका साथ आज हरितालिका तिज धुमधामका साथ मनाइरहेको छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतम बताउँछन् । ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ,’ उहाँले भन्नुभयो । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
व्रत बस्नेले आफ्नो क्षमतानुसार पानी, कन्दमूल, फलफूल, दूध, हवनीय वस्तु, श्रोत्रीय ब्राहृमणले खान हुने चिज, गुरुको वचनानुसारका खानेकुरा र औषधि गरी आठ कुरा खान हुने शास्त्रीय मान्यता छ । अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेका छ ।
व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको प्रा. डा. गौतमले बताए । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले जानकारी दिए ।
विशेषगरी माइती तथा दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मीसहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा पारिएको छ । दर्शनार्थीको भीड भएको क्षेत्रमा सवारीसाधन निषेध गरिएको छ । पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्