आसोज १, काठमाडौं । द दिनेश डिसी प्रोडक्शनद्वारा आयोजित ‘एलजी सिने सर्कल अवार्ड’को तेस्रो संस्करण आइतवार राजधानीमा सम्पन्न भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड सुपरस्टार गोविन्दाको विशेष उपस्थितिमा सम्पन्न अवार्डमा शिशिर राणा निर्देशित फिल्म ‘तिमीसँग’ उत्कृष्ट ठहरिएको छ ।
अवार्डमा ‘भुइँमान्छे’ बाट नवराज बुढाथोकीले उत्कृष्ट निर्देशकको अवार्ड आफ्नोतर्फ गर्दा अभिनेता नाजिर हुसेनले फिल्म ‘तिमीसँग’ बाट उत्कृष्ट नायकको अवार्ड आफ्नो पोल्टामा पारे । यस्तै, फिल्म ‘पञ्चायत’ बाट अभिनेत्री नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् ।
फिल्म ‘लिलिबिली’ बाट वर्षको पपुलर अभिनेता प्रदीप खड्काले पाए भने ‘छक्का पञ्जा २’ बाट प्रियंका कार्की पपुलर अभिनेत्री बन्न सफल भइन् । अवार्ड समारोहमा मृगौला रोगबाट पीडित ‘राँको’ ‘करोडपति’, ‘सिमारेखा,’ ‘घामछायाँ, ‘एक नम्वरको पाखे’, ‘कर्जा’, ‘घुम्टो’ जस्ता दर्जनौ नेपाली फिल्म निर्देशक किशोर राना ५१ हजार सहित लाईफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए ।
अवार्ड समारोहमा बोल्दै बलिउड अभिनेता गोविन्दाले ससुराली देशमा मिलेको प्रेमले मन प्रफुलित भएको बताए । उनले भने, ‘नेपाल मेरो पहिलो प्रेम हो । किनकी मैले पहिलो प्रेम नेपालकी छोरीसँग गरेको थिएँ ।’ उनले नेपाली अभिनेत्रीहरुको सौन्दर्यको पनि प्रशंसा गरे । उनकी छोरी टिना अहुजाले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड प्रदान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्