समाचार

सर्टिफिकेट धितो सहित सात विधामा सहुलियत ऋण पाउने निश्चित



असोज ३, काठमाडौं । अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्रको साथमा अन्य विभिन्न ७ वटा शीर्षकमा सहुलियत दरमा दिइने ऋणको कार्यविधि तयार पारेको छ ।

मन्त्रालयको कार्ययोजनामा उल्लेख भएअनुसार नै मन्त्रालयले भदौ महिनामै कार्यविधि बनाएको छ । सोहि अनुसार देशमा केही गर्न चाहनेलाई मंसिरदेखि ऋण दिन सुरु गर्ने गरी तयारी अन्तिम अवस्थामा पुगेको जनाइएको छ ।

कार्यविधिमा सहुलियत ऋण प्रमाणपत्र राखी लिने व्यक्तिले ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउन जसको लागि स्नातक तह पास गरेकै हुनुपर्ने उल्लेख छ । प्राविधिक र गैर प्राविधिक जे विधामा स्नातक गरे पनि ऋण पाइने कार्यविधिमा छ । उक्त सहुलियत ऋण पाउनको लागि ४० वर्ष ननाघेको पनि हुनुपर्ने व्यवस्था गरेको छ ।

सहुलियतमा दिने कर्जाको समायावधि ५ वर्ष तोकेको छ । यदी ५ वर्षभित्र ऋण नतिरेमा राज्यले दिने कुनै पनि सेवा नदिने अर्थ मन्त्रालयले जनाएको छ । कर्जा सुरक्षण कोषले ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको कर्जाको सुरक्षा गर्ने जनाइएको छ ।

अर्थ मन्त्रालयले पहिले नै भएको पशुपालन व्यवसाय तथा महिलाले सामूहिक रुपमा उद्यम गर्न चाहेमा ६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउने छन् ।

विदेशबाट फर्किएकाहरुले सीपका आधारमा नेपालमा उद्यम गर्न चाहेमा ५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्मको ऋण पाउने भएका छन् । दलित समुदायले केही व्यवसाय गर्न चाहेमा ५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।

प्लस टु पास गरेका विपन्न समुदायका युवाले ५ प्रतिशत ब्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । त्यस्तै भूकम्प पीडितले पनि ५ प्रतिशत ब्याजदरमा ३ लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् ।

मन्त्रालयले ७ प्रकारका सहुलियत ऋणको व्यवस्था गरे पनि कुनै पनि व्यक्तिले दोहोरो ऋण नपाउने जनाएको छ ।