राजनीति

संविधान संशोधन नभएसम्म संविधान दिवसलाई कालो दिवस : नेता कर्ण



असोज ३, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने बताउनुभएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने, ‘भोलि हामी कालो दिवस नै मनाउँछौं । देशैभरि विभिन्न जिल्लामा हामी प्रर्दशन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने कार्यक्रम छ ।’

नेता कर्णले संविधान दिवसलाई कालो दिवस मनाउनको लागि आफ्नो पार्टीका सबै नेताहरु जिल्ला–जिल्ला प्रस्थान गरिसकेको र केही आज जाने क्रममा रहेको जानकारी गराउनुभयो ।

सयौं नेता तथा कार्यकर्तामाथि सरकारले झुठो मुद्दा चलाएको बताउँदै संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउनुपरेको उहाँको तर्क रहेको छ ।

त्यस्तै उहाँले संविधान दिवशलाई कालो दिवसमात्रै नभई संविधान संशोधनको लागि आवश्यकत्ता अनुसार आन्दोलनका कार्यक्रमपनि घोषणा गरेर अघि बढ्ने समेत बताउनुभयो ।