समाचार

पूर्वविद्यार्थी २०४२ समूहद्वारा पूर्वप्रधानाध्यापक सम्मानित



असोज ४, भक्तपुर । सरस्वती विद्यागृह मावि पूर्व विद्यार्थी समुह२०४२  ले सरस्वती विद्यागृह माविमा सेवारत रही हजारौं विद्यार्थीहरुलाई शिक्षित बनाई शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका पूर्व प्रधानाध्यापकहरुलाई एक समारोहको आयोजना गरी सम्मान गरेको छ ।

बुधवार संविधान दिवसको अवसरमा ‘बृहत खुल्ला रक्तदान तथा पूर्वप्रधानाध्यापक सम्मान’ कार्यक्रममा वि.सं. २०१९ सालदेखि विद्यालयको प्रधानाध्यापकको रुपमा रही शिक्षा विकासको पर्यायको रुपमा रहनुभएका श्री शारदाभक्त मधिकर्मीको मृत्यु भइसकेको हुँदा मरणोपरान्त उहाँको सम्मानपत्र उहाँकी धर्मपत्नी नानीछोरी मधिकर्मीलाई प्रदान गरीएको छ । उक्त कार्यक्रममा अन्य प्रधानाध्यापकहरु चन्द्रकला मास्के, धर्मसुन्दर तुलाधर तथा पुण्यराम सुवाललाई कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले सम्मान पत्र प्रदान गरी तथा कार्यक्रममा अध्यक्ष एवं कार्यक्रमम आयोजक पूर्व विद्यार्थी समुह २०४२ का संयोजक सर्वोच्च अदालत वार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता राजु खड्काले दोसल्ला आढाएर सम्मान गर्नुभएको थियो ।

पूर्व प्र.अ. स्व. शारदाभक्त मधिकर्मीको प्रतिभामा माल्यार्पण गरी सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले आफु भक्तपुरको शैक्षिक विकासमा तल्लीन रहेकोले शिक्षाको धरोहरको रुपमा रहेको सरस्वती विद्यागृह माविको शैक्षिक उन्नतीमा आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गुर्नभयो । त्यस्तै शिक्षकहरुले आफ्ना विद्यार्थीहरुलाई वस्तुवादी तथा वैज्ञानिक शिक्षा प्रदान गर्नुपर्नेमा सांसद सुवालले जोड दिनुभयो ।

सम्मानित पूर्व प्रअहरुको तर्फवाट पूर्व प्रअहरु धर्मसुन्दर तुलाधर र पुण्यराम सुवालले यो सम्मानवाट आफुहरुलाई सेवानिवृत्त जीवन आफुले अध्यापन गरेको स्कुलको शैक्षिक स्तरवृद्धिमा लाग पर्न उत्प्रेरित भएको उल्लेख गर्दै यसमा क्रियाशिल हुने बताउनुभयो ।

विद्यालयका प्रअ राजाराम श्रेष्ठले आयोजक पूर्व विद्यार्थी समुह २०४२ बाट आफु निकै नै प्रभावित रहेको र स्कुलको शैक्षिक स्तरोन्नतीमा स्कुल परिवार यो समुहसँग सहकार्य गरेर अघि वढ्न चाहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्यमख्वले आफु व्यवस्थापन समितिको सदस्य समेत रहेकाले यस विद्यालयलाई आगामी दिनमा अझै प्रगतितर्फ अघि वढाउन आफु निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गुर्नभयो ।

समुहका सदस्य विष्णुभक्त कवांले संचालन गरेको र अर्का सदस्य एवं स्थानिय जनप्रतिनिधि समेत रहेका हेरा ख्याजुले स्वागत गर्नुभएको उक्त कार्यक्रममा अध्यक्षको आसनबाट वोल्दै समुहका संयोजक राजु खड्काले यो स्कुलको प्रगतिसँग आफुहरुको प्रतिष्ठा जोडिएको हुँदा आफुहरुले अध्ययन गरेको सरस्वती विद्यागृह माविको शैक्षिक उन्नयनमा आफुहरुको क्षमताले भ्याएसम्म लागि पर्ने समुहको दृढता व्यक्त गर्नुभयो ।

विजयादशमी, दिपावली, नयाँवर्ष (ने.सं. ११३९) तथा संविधान दिवस समेतको अवसरमा आयोजित उक्त कार्यक्रममा आयोजकहरु तथा अन्य व्यक्तिहरु समेत गरी तीन दर्जनले रक्तदान गरेको थिए । हरेक वर्ष असोज तीन गतेका दिन रक्तदान कार्यक्रम गर्ने कार्ययोजना उक्त कार्यक्रममा बताइएको थियो ।