समाचार

दसैँका लागि टिकट बुकिङ सुरु, पहिलो दिन नै १८९५ टिकट बुकिङ



असोज ६, काठमाडौँ  ।  दसैँको लागि अग्रिम टिकट बुकिङ सुरु भैसकेको सरकारले जनाएको छ ।

टिकट बुकिङ खोलेको पहिलो दिन हिजो काठमाडौंको नयाँ बसपार्कबाट १८ सय ९५ वटा टिकट बुकिङ भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारले चैतमा सिन्डिकेट अन्त्यको घोषणा गरेपछि धेरै व्यवसायी प्रालिमा दर्ता भैसकेका छन् । प्रालि सम्बद्ध ११ सय ९ व्यवसायीका ४ हजारको हाराहारीमा गाडी रहेका विभागले जनाएको छ । अहिले पनि २ सय ४५ समिति छन् । समिति मार्फतका केही व्यवसायीले पनि हिजोदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुलाएका छन् ।

यसअघि गएको भदौ ३१ गते विभाग र व्यवसायीबीच शुक्रबारदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको थियो । तर समिति सम्बद्ध व्यवसायीले सोमबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाउ नघटाएसम्म टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ। उनीहरुलाई सहमतिमा ल्याउन विभागले छलफल गरिरहेको छ ।