सम्पादकीय

सुन तस्कर फेरि सलवलाउन थाले, भरिया पक्राउ



प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्कर गरी काठमाडौं भित्र्याइएको ३ किलो सुन टोखाबाट बरामद गरेको छ । बरामद सुनको बजार मूल्य डेढ करोड रुपैयाँभन्दा धेरै छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ ५ः३० बजे टोखाको साईबाबाचोकबाट सुन बरामद गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तस्करीमा संलग्न रसुवा गोसाइँकुण्ड–१ का २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले रसुवाको जंगल हुँदै काठमाडौंको शिवपुरीबाट सुन टोखा ल्याएका थिए । बा।७३प ३४० नम्बरको निलो पल्सर मोटरसाइकलमा उनीहरूले सुन ल्याएका थिए ।

प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले केही हिस्सा काठमाडौंका सुन पसल र बाँकी भारत लैजाने उद्देश्यसहित सुन ल्याएको हुन सक्ने बताए । ‘केरुङ नाका हुँदै काठमाडौं ल्याइएको अवैध सुन बरामद भएको छ । सो सुन काठमाडौंका बजारमा बेच्ने र भारत पनि लैजाने उद्देश्य हुन सक्छ । हामी अनुसन्धान गरिरहेका छौँ । थप कुरा अनुसन्धानबाट खुल्छ,’ लामाले भने ।

प्रहरीका अनुसार दुवैजनाले १२ वटा टुक्रा बनाई कम्मरको पेटीभित्र लुकाएर सुन काठमाडौं भित्र्याएका थिए । सीमापारि नै टुक्रा बनाई पेटीको फल्सभित्र लुकाएर ल्याएको प्रहरीको भनाइ छ । विशेष सुराकीका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले मोटरसाइकलको ट्यांकी, डिक्कीदेखि शरीर खानतलासी गर्दा पनि सुन फेला पारेको थिएन । तर, त्यसपछि पेटीमा आशंका लागेर खोल्न लगाउँदा लुकाइराखेको १२ टुक्रा सुन भेटिएको एसएसपी लामाले जानकारी दिए ।

दुवैले प्रहरीसँगको बयानमा केरुङमा आफूहरूलाई चिनियाँ नागरिकले सुन दिने गरेको बताएका छन् । तर, काठमाडौंमा सुन ‘रिसिभ’ गर्ने व्यक्तिबारे भने केही खुलाएका छैनन् । ‘केरुङमा यिनीहरूलाई चिनियाँ नागरिकले सुन दिएको खुलेको छ । तर, चिनियाँ नागरिकको नाम खुल्न सकेको छैन,’ एसएसपी लामाले नयाँ पत्रिकासँग भने, ‘काठमाडौंमा रिसिभ गर्ने व्यक्तिको सम्बन्धमा भने यिनीहरूले केही बोलेका छैनन् । अनुसन्धान जारी रहेकाले छिट्टै केही तथ्य बाहिर आउला ।’

केरुङ नाकाबाटै तस्करी गरी सुन ल्याइए पनि काठमाडौं भित्र्याउन भने यसपटक नयाँ नाका प्रयोग भएको खुलेको छ । यसअघि उनीहरूले रसुवा हुँदै नुवाकोटको त्रिशूली, नागढुंगा नाकाबाट तस्करीको सुन काठमाडौं भित्र्याउँथे । प्रहरीले पक्राउ गर्न थालेपछि भने उनीहरूले रसुवाको जंगल हुँदै शिवपुरीबाट टोखाको झोर निस्कने बाटोलाई तस्करीको नयाँ रुट बनाएको देखिएको छ ।

सोमबार पक्राउ परेका नरबहादुर र पेम्बाले यसअघि सोही नाकाबाट सुन तस्करी गरेको पाइएको हो । प्रहरीले गत १६ र १७ असारमा केरुङ नाकाबाटै काठमाडौं भित्र्याइएको ९ किलो सुन बरामद गरेको थियो । तर, सो सुन नागढुंगा नाकाबाट बरामद भएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले यसअघि तीनपटकसम्म सोही विधि प्रयोग गरी सफलतापूर्वक सुन तस्करी गरेका थिए । २ महिनाअघिबाट उनीहरू सुन तस्करीमा लागेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । त्यसअघि दुवैजना घर बनाउने काममा मजदुरी गर्थे ।

‘एकपटक सुन तस्करी गर्दा प्रतिकिलो ५० हजार रुपैयाँसम्म पाउने भएपछि दुवैजना मजदुरी छाडेर तस्करीमा लागेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्म यी दुईले ६ किलोभन्दा बढी सुन तस्करी गरिसकेको देखिन्छ ।’