असोज ११, भक्तपुर । लाभग्राही सूचीमा परेर पहिलो किस्ता स्वरुप ५० हजर रुपैया लगेका भूकम्प पीडितहरुले उक्त रकम घर भत्काउँदै सकिएको बताएका छन् ।
आज भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोल वडा कार्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनःनिर्माण सवाल विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि अधिकांश पीडित यस्तो बताएका हुन् ।
सिपाडोलका श्यामबाबु अधिकारीले पहिलो किस्ता स्वरुप लिएको रकम मध्ये ४० हजार रुपैया भत्किएको घर पछाउँदै सकिएको बताउँनुभयो ।
उहाँले भन्नुभयो–“२०७२ साल बैशाख १२ को भूकम्पले मेरो घर भत्कियो, माथिको सबै भत्किए पनि तल टालटुल गरेको बसेका थियौ, त्यही पनि यो वर्षामा पानी चुहिएर सिधियो, अनुदानमा पाएको पहिलो किस्ता स्वरुपको ५० हजार मध्ये ४० हजार घर पन्छाउँदै सकियो, सरकार अब घर कसरी बनाऊँ ।”
जग्गाको नाममा अन्यत्र कतै घरेडी समेत नभएका र आम्दामीको निश्चित श्रोत समेत नभएका अधिकारीलाई अब घर कसरी बनाउँनु भन्ने चिन्ताले दैनिक सताउँने गरेको बताउँनुहुन्छ ।
सिपाडोल कै मिश्रि नेपालीको समस्या पनि उस्तै छ । अन्यत्र घरेडी कतै छैन, भमापदण्ड पुर्याएर घर बनाउँदा घर बन्दैन, नक्सा पास हुदैन, बास उखेलिनु भन्दा बनाउँछु भनेर एक तलाको घर त बनाईन तर नक्सा पास नहुँदा दोश्रो किस्ता लिन नपाएको बताउँनुहुन्छ ।
सार्वजनिक सुनुवाईसमा सहभागि सिपाडोल आशापुरीका रामबहादुर तामाङ्ग भने पहिलो किस्ता लिएको महिनौ बितदा पनि दोश्रो किस्ता नआएको गुनासो गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ–“प्राबिधिक टोलीले पनि हेरिसक्यो, प्रक्रिया पनि पुगिसक्यो, संगै फाईल गएकाहरुको दोश्रो किस्ता आयो, मेरो भने अझै आएन, कस्तो अन्यौल भयो ।”
अर्का भूकम्प पीडित श्यामकृष्ण हाकुदुवाले भने भूकम्प गएको तीन महिना मै नयाँ घर बनाए । त्यतिखेरसम्म नयाँ मापदण्ड नआएकाले पुरानै मापदण्ड अनुसार नौ बाह्रको पिलर उठाएर दुई तला घर बनाएकै कारण अनुदान नपाएको गुनासो गर्नुहुन्छ ।
स्थानीय नानी नेपालीको भनाई पनि उस्तै छ । भूकम्प पनि वाल सिस्टममा एक तला घर बनाए पनि नगरपालिकाबाट नक्सा पास नहुँदा अनुदान रकम पाउँनबाट बञ्चित हुनुपरेको गुनासो गर्नुहुन्छ ।
लक्ष्मी नेपालीको समस्या पनि उस्तै नै छ । उहाँ भन्नुहुन्छ–“पहिलो किस्ता रु. ५० हजार लिएँ, तर जग्गामा मोही तल्छिन भएकै कारण नक्सा पास भएन र घर बनाउँन पाईन ।”
सार्वजनिक सुनुवाईमा सहभागि अधिकांश पीडितले पहिलो किस्ताको रकम घर भत्काएर सकिएकाले घरको जग नै हाल्न नपाएको गुनासो गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष किरण थापाले खड्ग कुमारी बजगाई, पूर्णबहादुर तामाङ्ग सहित तीन जना सुकुम्वासी रहेकोले उनीहरुको बासस्थानको व्यबस्था गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले स्थानीइ दामोदर त्यात, साधुराम त्यात लगायतको सम्झौता भएपनि रकम नआएको बताउँदै सुरुमा जनप्रतिनिधी नहुँदा अनुदान लिनेबारे थाहा नपाउँदा धेरै पीडितहरुले समस्या भोग्दै आएको बताउनुभयो ।
उहाँले जनप्रतिनिधी आएपनि भूकम्प पीडितको समस्या समाधानका लागि सक्दो पहल गरेको बताउँदै आशापुरी, नैचाल, पाटी भञ्याङ्ग लगायतका क्षेत्रमा ९० प्रतिशत भूकम्प पीडितले भूकम्प प्रतिरोधी घर बनाईसकेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य अजय तामाङ्गले गुनासो फराम भरेका १९ जनाको अझै पनि जवाफ नआएको, छुटमा पुन सर्वेक्षणका लागि फाराम भरेकाले दैनिक के भयो भनेर सोध्ने गरेको बताउनुभयो । बैंकले समय मै पैसा नपठाउँदा पनि समस्या आएको उहाँको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यबस्थापन तथा स्थानीय पूर्वाधारका सामाजिक विकास विशेषज्ञ हेरम्ब अधिकारीले मंसिर मसान्त सम्म गुनासो फाराम भरेकाको छिटो रकम आउँने बताउँनुभयो । उहाँले चित्त नबुझेका र छुटमा परेकाले पुनरावेदन गर्न पाउँने व्यबस्था गरेको बताउँदै ३० प्रतिशत भन्दा बढीले घर नबनाएको अबस्थामा निर्धारित समयमा घर बनाउनु पर्ने रकम लगेर घर नबनाएकाले ५० हजार फिर्ता गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्राबिधिक मनिषा सुवालले सबै प्रक्रिया पुर्याएर जिल्लामा फाईल पठाए पनि तीन महिनासम्म पैसा नआउँने गरेको र बैंकले पटक पटक पैसा आएको छैन भनेर फर्काउने गर्दा समस्या आएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं मानव अधिकार सञ्जाल भक्तपुरका उपाध्यक्ष रमेश गिरीले समस्यामा परेका भूकम्प पीडितहरुको समस्इा समाधान गर्न जनप्रतिनिधी र प्राधिकरणका कर्मचारी एवं प्राबिधिकले सहयोग गरे मात्रै सरकारको लक्ष्य पुरा हुने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्