समाचार

अटो जिमखानामा भाग लिन नेपाली टोली मुम्बई प्रस्थान



असोज १२, काठमाडौं । मोटर स्पोर्ट्सको ग्लोबल गभर्निङ्ग बडी Federation International de l’Automobile (FIA) को एसिया प्यासिफिक प्रतियोगिता AAGC Round 2 मा भाग लिन नेपाली टोली मुम्बई प्रस्थान गरेको छ ।

नेपालको तर्फबाट अनिल बराल र कृष्णप्रसाद पौडेल प्रस्थान गरेका छन् । त्यसैगरी अफिसियलको रुपमा यदुराज लामिछाने सहभागी हुँदैहुनुहुन्छ ।

खेलाडीहरुलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)का महासचिव गोविन्द भट्टराई तथा नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी)का अध्यक्ष दीपक आचार्य र सचिव अमरज्योति रञ्जित लगायतले विदाई गर्नुभयो ।

आगामी सेप्टेम्बर २८ र २९ मा रेमन्ड रेस ट्रयाकमा सो प्रतियोगिता हुनेछ । अटो जिमखानामा एसिया प्यासिफिक क्षेत्रका ३२ ड्राइभरहरु प्रतिस्पर्धा गर्ने छन् । एक देशबाट दुई ड्राइभरले भाग लिने छन् ।

प्रतियोगितामा नेपाल सहित कम्बोडिया, हङकङ, भारत, इन्डोनेसिया, जापान, मकाउ, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, सिंगापुर, ताइवान र थाइल्यान्डका ड्राइभरहरुले भाग लिने छन् । आयोजक राष्ट्र भारतका ४ टिम प्रतियोगितामा सहभागी हुने छन् ।

एसिया अटो जिमखाना कम्पिटिसनको फर्स्ट राउन्ड इन्डोनेसियाको बाली प्रान्तको राजधानी डेनपासर सिटीमा गत अगस्ट ११ र १२ मा भएको थियो ।

उनीहरु नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को तर्फबाट प्रतियोगितामा भाग लिन गएका हुन् । सो जिमखाना रेसिङको तेस्रो राउन्डको प्रतियोगिता आगामी नोभेम्बर पहिलो हप्ता ताइवानमा हुनेछ ।