Banner News

संयुक्त राष्ट्र संघको ७३ औं महासभाको बैठकमा प्रधानमन्त्री ओलीको सम्वोधन



असोज १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७३ औं महासभाको बैठकलाई सम्वोधन गरेका छन् ।

सम्वोधनका क्रममा प्रधानमन्त्रीले नेपालमा रहेका शरणार्थीदेखि लिएर क्षेत्रीय संगठन सार्कको समेत विषय उठान गरेका छन् । पश्चिमाहरुले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पक्षमा कुरा उठाउने र नेपाललाई दबाव दिने गरिरहेका बेला प्रधानमन्त्री ओलीले मानवताका आधारमा नेपालले शरणार्थीहरुलाई शरण दिइरहेको बताएका छन् ।

आफ्नो सम्वोधनमा प्रधानमन्त्री ओलीले भने– ‘नेपालले मानवताका आधारमा हजारौँ शरणार्थीहरूलाई शरण दिएको छ । अन्तरराष्ट्रिय समुदायले उनीहरूको सम्मानका साथ घर जान पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्छ ।’

‘हाम्रो परराष्ट्रनीतिले हामीलाई सबैसँग मित्रता कायम गर्न र कसैसँग पनि वैरभाव नराख्न निर्देशित गर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यही सिद्धान्तअनुसार हामीले अन्तराष्ट्रिय मुद्दाहरूमा आफ्नो स्वतन्त्र धारणा राख्ने गरेका छौँ ।’

सम्वोधनमा प्रधानमन्त्रीले भने– ‘हालै मात्र हामीले चौधौँ बिमस्टेक सम्मेलनको आयोजना गर्‍याैं । हामी सार्कजस्तो महत्वपूर्ण क्षेत्रीय संगठनलाई पुनर्जीवित गर्न चाहन्छौँ ।’

सम्वोधनका क्रममा उनले आफ्नो सरकारको नारा समृद्ध नेपाल र सुखी नेपाली रहेको बताए ।