असोज १६, भक्तपुर । पतञ्जली योग समिति अबैध रुपमा संचालित भई राष्ट्रियतामा आँच आउँने काम गरेको र आर्थिक अनियमितता गरेको भन्दै पातञ्जल योग समिति नेपाल गठन गरिएको छ ।
पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले सोमबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै पतञ्जली योग समिति त्यागेको घोषणा गरिएको छ । पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बिधिवत रुपमा दर्ता गरि पतञ्जली योग समिति त्यागेर पातञ्जल योग समितिको केन्द्रिय तथा जिल्ला समिति गठन गरिएको बताउनुभयो ।
सम्मेलनमा उहाँले भन्नुभयो–“पतञ्जली योग समितिले नेपाली राष्ट्रियतामा आँच पुग्ने गरि काम गरिरहेको छ, पतञ्जली कै नाममा भारतीय झण्डा, लोगो र ब्यानर बोक्नु पर्छ, नेपालीबाट आजिवन सदस्य बनाएको करोडौ रुपैया भारतमा लगेर बुझाएको छ, आर्थिक अनियमितता व्यापक छ ।”
पतञ्जली योग समिति नेपालमा दर्ता नभएको संस्थाले नेपालको राष्ट्रियता, अखण्डतामा आँच पुग्ने गरि काम गरेपछि त्यसलाई रोक्न, नेपालका झण्डा, ब्यानर र लोगो प्रयोग गर्न माग गर्दै विधि सम्वत् संचालन गर्न माग गर्दा नमाने पछि बाध्य भएर छुटिएर पातञ्जल योग समिति गठन गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।
पतञ्जलीले सयौ व्यक्तिलाई प्रतिव्यक्ति रु. १ लाख भारुमा आजिवन सदस्य बनाएर करोडौ रुपैया नेपाली रकम भारत लगेको र नेपालमा हरेक वर्ष संकलन हुने करोडौ रुपैया अनियमितता भएको उहाँले बताउनुभयो । नेपाली राष्ट्रियताको पक्षमा उभिदै, नेपाली झण्डा, नेपाली ब्यानर र नेपाली लोगोको प्रयोग गरि विधिवत रुपमा दर्ता गरेर केन्द्रिय तथा जिल्ला समितिहरुश्र गठन गरेका छौ, यसलाई ७७ जिल्ला मै बिस्तार गर्ने बताउनुभयो ।
कार्यक्रममा योग गुरु एवं योगका अभियन्ता बालमुकुन्द सुवालले योग भारतबाट प्रारम्भ भएको भन्दै पतञ्जली योग समितिले गलत प्रचार गरेको बताउँदै शास्त्रबाटै योग नेपालको हिमाञ्चलबाट महादेवदेखि ऋषिहरुबाट सुरु भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालका हरेक योग साधना केन्द्रमा भारतकै झण्डा, लोगो र व्यानर प्रयोग गरेकाले अब त्यसलाई बिस्थापित गर्दै नेपालको झण्डा, लोगो र व्यानरको प्रयोग गरिने बताउनुभयो ।
समितिका कोषाध्यक्ष जानुका भट्टराईले पतञ्जली योग समिति त्यागेर पातञ्जल योग समिति गठन गर्नुपर्नाका कारण सहितको प्रेस विज्ञप्ती वाचन गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्