Banner News

मेलम्चीको खानेपानीको विकल्प, दुई ड्याम्प बन्ने



असोज १७, भक्तपुर । खानेपानीको हाहाकार भइरहेको काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानीको विकल्पमा दुईवटा ड्याम्प बनाउन सम्भाव्यता अध्ययन शुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश बस्नेतको विशेष पहलमा आज चाइना केन्द्रिय सरकारको मातहतमा रहका चार कम्पनी मध्येको ‘चाइना कन्सल्टेन्ट कन्स्ट्रक्सन कम्पनी’ले उक्त अध्ययनको कार्य शुरु गरेको हो ।

सूर्यविनायक नगरपालिका वडा नं. १० सूर्यमोडमा रहेको एक स्थान र महादेव खोला मुहान पोखरीमा ड्याम्प बनाउन आवश्यक अध्ययन शुरु गरेको हो । मेलम्ची खानेपानीको साथमा थप यी दुई ड्याम्प प्रयोग हुने जनाइएको छ । उक्त दुई स्थानमा ड्याम्प बनाउन सफल भएमा भक्तपुर जिल्लाको लागी मात्र नभई काठमाडौं उपत्यकावासीलाई नै खानेपानी समस्या समाधान गर्ने अर्को विकल्पको रुपमा लिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चाइना भ्रमणको क्रममा काठमाडौं उपत्यकामा चारवटा ड्याम्प बनाउने चाइना सरकारसँग सम्झौता भए अनुसार चाइना सरकारले उक्त कम्पनीलाई काम अघि बढाउन निर्देशन दिएको हो । उक्त दुई स्थानमा ड्याम्प निर्माण भए पश्चात ड्याम्पमा पानी संकलन गरी भक्तपुरमा नै पानी ट्रिटमेन्ट प्लान्टको माध्यमबाट सुद्धिकरण गर्ने उक्त कम्पनीले जनाएको छ ।

उक्त ड्याम्प बनाउन चाइना सरकारले आवश्यक मात्रामा लगानी आफै गर्ने भएको छ । चाइना सरकारले नेपाल सरकारलाई सहुलियतदरमा ऋण स्वरुप उक्त कार्यमा लगानी गर्ने भएको हो । सो ऋणमा नेपाल सरकारले दुई प्रतिशत ब्याज चाइना सरकारलाई तिर्ने सम्झौता अनुसार उक्त कार्य अघि बढेको हो । उक्त कम्पनीले सन् १९३८ मा अरनीको राजमार्ग तथा पृथ्बी राजमार्ग समेत सफलतापूर्वक निर्माण सम्पन्न गरिसकेको छ ।

उक्त कार्यक्रममा सांसद बस्नेतले उक्त दुई ड्याम्प निर्माण पश्चात मेलम्चीको खानेपानीको विकल्पको रुपमा उपत्यका वासीमा विकल्पको रुपमा प्रयोग गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘चागुनारायण नगरपालिका तथा सूर्यविनायक नगरपालिकामा मेलम्चीको खानेपानीबाट बञ्चित भएका समुदायलाई उक्त खानेपानी वितरण गरिनेछ । उक्त स्थानका समुदायका मानिसलाई वितरण पश्चात बाँकी खानेपानी काठमाडौं उपत्यकामा पठाईनेछ । जसबाट भक्तपुरवासीमात्र नभई काठमाडौं उपत्यकावासीले नै खानेपानीको समस्याबाट मुक्त हुनेछन् ।’ त्यस्तै उहाँले मेलम्चीको खानेपानीमा केही समस्या उत्पन्न भएको खण्डमा समेत उक्त दुई योजना उत्तम विकल्पको रुपमा हुने बताउनुभयो ।

त्यस्तै सूर्यमोडको ड्याम्पमा आशापुरीको पानी ल्याईने र त्यसबाट ओभरफ्लो भएको पानीबाट भक्तपुरका जनताले सिचाईको रुपमा प्रयोग गर्न सक्ने सांसद बस्नेतले बताउनुभयो । त्यस्तै उहाँले उक्त ड्याम्पमा पर्यटन विकास गर्न डुङ्गा सञ्चालन गरी भक्तपुरको पर्यटन तथा आर्थिक वृद्धिदरलाई उच्च बनाउने समेत बताउनुभयो ।