असोज १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ४ मन्त्रीसहित ३० सदस्यीय परिषद् गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई पूर्णता दिने उद्देश्यले परिषद् गठन गरिएको कार्यालयले जनाएको छ ।
परिषदमा प्रधानमन्त्री ओली अध्यक्ष रहेका छन् भने सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, अर्थमन्त्री डा. युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारी सदस्य रहनेछन् ।
परिषदमा निजी क्षेत्र तथा व्यावसायिक संघसंगठनका तर्फबाट कृषि व्यसायबाट सुरज वैद्य, जगदीश अग्रवाल र सिपी शर्मा, बैंकिङतर्फबाट मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुजेली, सार्क महिला आर्थिक मञ्चकी प्रमुख प्रमिला रिजाल आचार्य, द्वारिका होटलकी प्रमुख अम्बिका श्रेष्ठ, जलविद्युतर्फबाट पदम ज्योति र औषधि उद्यमी डा उपेन्द्र महतो छन् ।
त्यस्तै, निजी तथा व्यावसायिक क्षेत्रबाट औषधि व्यवसायी बसन्त चौधरी, जेभी (एमएनसी) रविभक्त श्रेष्ठ, पर्यटन तथा हवाई यातायात सञ्चालक आङछिरिङ शेर्पा, छापा उद्योग (सञ्चार समाज) बाट कैलाश सिरोहिया, सूचना प्रविधि क्षेत्रबाट विश्वास ढकाल, सिनेमा उद्योगबाट नकिम उद्दिम र उद्योगबाट लोकमान्य गोल्छा र चिरञ्जीवीलाल अग्रवाललाई पनि परिषद्को सदस्य बनाइएको छ ।
यसैगरी परिषद्को पदेन सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल बैंकर्स एसोसियसन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, महिला चेम्बर अफ कमर्सका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष सदस्य छन् ।










प्रतिक्रिया दिनुहोस्