असोज १८, काठमाडौँ । उपत्यका विकास प्राधिकरण, उपत्यका सडक विस्तार आयोजना तथा सहरी तथा भवन निर्माण विभागले भक्तपुर विकासमा बिशेष चासो दिदैं १८ वटा ठूला सडकको स्तरउन्नती हुने भएको छ ।
सहरी विकास मन्त्रालय काठमाडौँ उपत्यका विकास प्राधिकरणमा आज भएको ‘विगतमा भएका सडकका स्तरउन्नती’ विषयक छलफल कार्यक्रममा सडक विस्तारलाई द्रुत गतिमा अघि वढाउने सहमति भएको छ ।
शहरी विकासको क्रममा वढ्दो जनसंख्यालाई मध्यनजर गर्दै भक्तपुर जिल्लाभित्र रहेका सवै नगरपालिकाका प्रत्येक वडामा मुलसडकले जोड्ने योजना अघि सारिएको छ । यसै क्रममा अरनिको राजमार्ग आदर्शबाट घ्याम्पेडाँडासम्मको १५ मिटरको पाँच किलोमिटर, पात्लेटारबाट अनन्तलिङ्गसम्मको १५ मिटरको चार किलोमिटर, सूर्यविनायक चोक गणेश मन्दिरबाट कृष्ण मन्दिर – प्राणी उद्यानको किनार हुँदै नारायण सडक १५ मिटरको पाँच किलोमिटर, सरस्वतीखेल वसपार्कदेखि मुलपानी जाने १७ मिटरको ४.५ किलोमिटरका साथमा १८ वटा ठूला सडकलाई स्तरउन्नती गर्ने प्राधिकरण र स्थानीय जनप्रतिनिधिविच सहमति भएको छ ।
छलफल कार्यक्रममा प्राधिकरणले एकमात्र सर्त निर्माणधिन सडकमा विवाद मुक्त बनाउनुपर्ने बताएको छ । त्यस्तै उक्त जिल्लाको लागि प्राधिकरणले १० वटा ठूला सडकको स्तरउन्नती गर्ने भएको छ । त्यस्तै उपत्यका सडक विस्तार आयोजना, सहरी तथा भवन निर्माण विभाग तथा स्थानीय सरकार मिली अन्य आठवटा सडकको स्तरउन्नती गरिने भएको छ ।
कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले केन्द्रिय राजधानीसँगै जोडिएको जिल्ला भक्तपुर भएपनि विकासका गतिले बक्तिमुनीको आध्यारो जस्तै भएकाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, विद्युत, खेलमैदान, प्राणी उद्यान, सभागृह, स्मार्ट सिटी जस्ता राष्ट्रिय गैरवका आयोजनाहरु प्रकृयागत रुपमा सरकारले कार्य थालनी गरिसकेको जानकारी गराउनुभयो । उहाँले सबैको साथ र सहयोगको आग्रह समेत गर्नुभयो । सांसद बस्नेतले विगतमा आफु मन्त्री भएको समयदेखि भक्तपुरलाई विकासको गतिलाई तिव्रता दिदै गएको जानकारी गराउनुहुँदै पछिल्लो तीन वर्षमा ६३ करोडको सडक विस्तारको कार्यहरु अघि वढिरहेको बताउनुभयो ।
उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले जनमुखी विकासका योजनाहरु जनप्रतिनिधिहरुले ल्याएमा प्राधिकरणको तर्फबाट काम अघि बढाउन तयार रहेको बताउनुभयो । उहाँले कुनै पनि योजना सम्वन्धीत निकायले प्रकृया पुरा गरी आएमा रोकछेक नहुने भन्दै सडक विस्तारलाई अघि वढाउने क्रममा अधिकाशं सडकहरुको डिपिआर सम्पन्न भइसकेको जानकारी समेत गराउनुभयो ।
उपत्यका सडक विस्तार आयोजना प्रमुख दिपक केसीले सडक विस्तार गर्न सिमा विवादको अन्त्य गर्नुपर्ने बताउँदै विवाद अन्त्य नभएमा ठेक्का प्रकृया अघि वढाउन नसकिने बताउनुभयो ।
सहरी तथा भवन निर्माण विभागका प्रमुख मणीराम गेलाले विकास निर्माणका कार्यहरुमा आएका समस्याहरु समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले विकासको बिरोधका नाममा विकास विराधी गतिविधि गर्न नहुने तर्क प्रस्तुत गर्नुभयो । त्यस्तै उहाँले तत्कालै एक करोड बराबरको साना साना पाँचवटा आयोजना ल्याउन जनप्रतिनिधिलाई आग्रह समेत गर्नुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले सडक विस्तार तथा अन्य विकास निर्माणको क्रममा आउने सिमा विवाद स्थानीय सरकारले नै समाधान गर्ने जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्