राजनीति

पार्टीको निर्णय भन्दा माथि उठी दिईने अभिव्यक्ति समृद्धिको घातक : सांसद पहारी



असोज १८, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद राजिव पहारीले इतिहास बोकेको पार्टीका नेताले पार्टीको निर्णयभन्दा माथि उठी दिइने अभिव्यक्ति समृद्धिको लागि घातक हुने बताउनुभएको छ ।

देश र जनताको विश्वास एवं भरोसाको पार्टीको रुपमा स्थापीत नेकपाका नेतृत्वमा रहेका नेतृत्व पंतिले जनता विरोधी, पार्टी विरोधी अभिव्यक्ति दिनु समृद्ध नेपाल सुखी नेपालीको विरुद्धमा भएको बताउनुभयो । वर्तमान समय आफ्नै पार्टी पक्ष र विपक्षमा भई अभिव्यक्ति दिनु भनेको नेपाली जनतको भाग्य र भविष्य माथि खेलवाड हुने देखिएको भन्दै यस्ता अनावश्यक तर्क प्रस्तुत नगर्न नेतृत्वलाई विनम्रतापूर्वक आग्रह गर्नुभयो ।

योग्य तथा दक्ष व्यक्ति भएको पार्टी नेकपा भएकाले पार्टीमा आफ्नै मात्रै हैकम चल्नुपर्छ भन्ने मान्यता त्याग्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो । कोही व्यक्ति कस्तो भन्दा पनि देश आगामी दिनमा कस्तो बनाउने भन्ने नीति तथा कार्यक्रम बनाई एक ढिक्का हुनुपर्ने समयमा आफ्नै पार्टी भित्र आन्तरिक द्वन्द्व सिर्जना गर्नु भनेको हतोत्साई मनासयको पराकाष्ट भएको समेत दावि गर्नुभयो ।

पार्टी भित्र हुने आन्तरिक विवादलाई आन्तरिक रुपमा नै वार्ता तथा छलफलको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सांसदमा दिएको अभिव्यक्ति लगायत अन्य नेतृत्व पंतिले सामाजिक रुपमा दिएको अभिव्यक्तिको कडा रुपमा खण्डन गर्नुभयो । उहाँले भन्नुभयो ‘पार्टी भित्रको आन्तरिक विवाद तथा समस्या आन्तरिक छलफलद्वारा मिलाउनुपर्छ । कुनै गुट र उपगुटको माध्यमवाट पार्टी अघि वढ्नु हुँदैन । जनताले दिएको म्याण्डेट पुरा गर्नु अहिलेको अपरिहार्य हो । आन्तरिक रुपमा गुट र उपगुटको अन्त्य हुनुपर्छ । त्यसको लागि युवा नेतृत्व रचनात्मक रुपमा भूमिका निर्वाह गर्छ ।’ उहाँले थप्नुभयो ‘भाई फुटे गवार लुटे भन्ने कुरालाई सबैले मनन गरौ। बोल्न पाईयो भनेर प्याच्च नबोलौ। खान पाईयो भनेर क्वाप्प नहालौ।’

वर्तमान समय विकास र समृद्धिको साथमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटन, रोजगारी लगायतको वातावरण सिर्जना गरी देशलाई समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने जनमत सहितको दुई तिहाइको सरकार रहेको बताउँदै इतिहासमा नगन्य मात्रामा हुने यस्तो सरकारले तथा पार्टीले जनतालाई आत्मामा राखि निर्वाचनको समयमा गरिएका बाचा पुरा गर्न एक ढिक्का भई लाग्नुपर्ने बताउनुभयो ।