महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिनसमेत सेवाग्राहीसँग घुस मागेको रहस्य खुलेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार टिभी गरिद गरी ल्याइदिन र त्यसको बिल भुक्तानी गरिदिन भनेको अनुसन्धानका क्रममा खुलेको हो । प्रहरी उपरीक्षक राईले टिभी खरिद बापतको बिलको भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले शनिबार राति राईलाई महानगरीय वृत्त बौद्धको कार्यालयबाटै एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । यस्तै आयोगले आज नापी कार्यालय बूढानीलकण्ठमा कार्यरत नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहानामा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस माग्दामाग्दै गरेको अभियोगमा आयोगले केही दिन पहिले उनलाई पक्राउ गरेको थियो । आयोगले नापी सर्वेक्षक कुँवरविरुद्ध २५ हजार रुपैयाँ बिगो कायम गरी कैद सजायको माग गरेको छ ।
यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी जवान मानसिहं रोका र प्रहरी जवान रत्नप्रसाद रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा व्यवसायीसँग पाँच हजार रुपैयाँ घुस मागेको अभियोग उनीहरुमाथि लागेको छ ।
यस्तै आयोगले साविक जिल्ला विकास समितिको कार्यालय रुपन्देहीअन्तर्गत गजेडी गाउँ विकास समितिमा सचिव पदमा कार्यरत तत्कालीन शाखा अधिकृत राजकुमार श्रेष्ठ र कुञ्जी प्वाकल माध्यमिक विद्यालय, काठमाडौँका शिक्षक लक्ष्मण सापकोटाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।










प्रतिक्रिया दिनुहोस्