राजनीति

नेविसंघमा ३२ वर्षे हदबन्दी : पौडेल र सिटौला पक्षको नोट अफ डिसेन्ट



असोज २२, काठमाडौँ । नेपाली काग्रेसको केन्द्रि कमिटीले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सभापति हुन नेपाली कांग्रेसले उमेर हद ३२ वर्ष तोके पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाउँदै नोटअफ डिसेन्ट गरेका छन् ।

आइतबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले पारित गरेको छ । उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताले असहमति जनाएका हुन् ।

संघले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको ‘नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संशोधन २०७५’ लाई पन्छाएर विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गरिएको भन्दै उनीहरुले फरक मत राखेका छन् । ‘यो निर्णयले पार्टी तथा पार्टीका संस्थाहरुको संस्थागत विकास र लोकतान्त्रिक प्रक्रियामा गम्भीर आघात पारेको हाम्रो ठहर छ। हामी यो निर्णयमा असहमति प्रकट गर्दछौं’ नोट अफ डिसेन्टमा उनीहरुले लेखेका छन् ।