सुनसरीको दक्षिण सीमानाकानजिक भारतीय ‘सार्पसुटर’ले हरिनगर–२ भुटाहाका नेकपा जिल्ला नेता खुर्सिद अन्सारीको हत्या गरेपछि थप सुरक्षा टोली खटाइएको छ । घुस्की सीमानाकामा चेकजाँच पनि कडा बनाइएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार घुस्की प्रहरीचौकीमा सइको कमान्डमा २२ प्रहरी परिचालन गरिएको छ । यसअघि असइको कमान्डामा सातजना मात्र चौकीमा थिए । गत ४ असोजमा अन्सारीलाई गोली हानेर फरार भएकालाई चेकपोस्टमा रोक्न खोज्दा प्रहरी जवान शिवलाल पौडेलमाथि नै गोली प्रहार भएको छ । पौडेलको तिघ्रा र कम्मरमा गोली लागेको थियो ।
सीमाक्षेत्रमा १८ वटा प्रहरी युनिट राखिएको छ । मोबाइल गस्ती र पैदल गस्ती २४ सै घन्टा परिचालन गरी सिसिक्यामेराबाट निगरानी गरिने एसपी अधिकारीले जानकारी दिए । यस्तै सीमाक्षेत्रमा सशस्त्रको पनि नौवटा सुरक्षा चेकजाँच प्वाइन्ट बनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीका अनुसार आवतजावत गर्ने जोकोहीको पनि नाम–ठेगाना लेखेर रेकर्ड राख्न सुरु गरिएको छ । ‘कहाँ जाने, किन जाने, कहिले फर्कने जस्ता कुराको सबै रेकर्ड राख्न सुरु गरिएको छ, रेकर्ड प्रणालीलाई थप व्यवस्थित बनाउन चाँडै आवतजावत गर्नेको कम्प्युटरमा फोटोसहितको तथ्यांक राख्ने तयारी छ,’ प्रजिअ उप्रेतीले भने ।
सुनसरीको घुस्की नाकाको कमान्ड सम्हालिरहेका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तले दुई देशको सम्बन्धमा कुनै असर नपार्ने गरी सुरक्षा व्यवस्था कडा बनाइएको बताए । ‘दैनिक रूपमा आवतजावत गर्ने सवारीसाधनको नम्बरदेखि प्रायः सबै व्यक्तिमाथि हामीले नजर राखेका हुन्छौँ,’ पन्तले भने, ‘कुनै आपराधिक किसिमको मनसाय भएका व्यक्ति देखिए हामी तुरुन्त सबै नाकामा जानकारी गर्ने गरेका छौँ ।’
ग्रामीण क्षेत्रमा समेत प्रत्येक नाकामा चेकजाँच प्वाइन्ट नै राखेर सुरक्षा व्यवस्थालाई मजबुत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुनसरीको दक्षिणी भेगस्थित उल्टी, सिसुवा, घुस्की, घुरणा, फुलकाहालगायत नाकामा सशस्त्र प्रहरीले समेत सुरक्षा चेकपोस्ट राखेका छन् । नागरिकको सुरक्षाको हिसाबले प्रहरीले राम्रो काम गरेकोे स्थानीय मानवअधिकारकर्मी नइम अन्सारीले बताए ।
हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले सीमानाकामा तैनाथ सुरक्षाकर्मीलाई नागरिकस्तरबाट समेत सहयोग भइरहेको बताए । प्रत्येक नाकामा सुरक्षा पोस्ट बनेपछि चोरी–डकैतीको घटनामा समेत कमी आएको उनको भनाइ छ ।
सुनसरीमा सीमावर्ती क्षेत्रमा ६६ किलोमिटर दूरी भारतसँग जोडिएको छ । हरिनगर, देवानगन्ज, भोक्राह र कोसी गाउँपालिका भारतको सीमासँग जोडिएका छन् ।










प्रतिक्रिया दिनुहोस्