समाचार

उपत्यकामा वढ्दो प्रदुषणको जोखिममा बालबालिका



असोज २६, काठमाडौँ । काठमाडौं उपत्यकामा वढ्दो वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा प्राणघाक रोगहरु लाग्ने गरेको छ ।

वातावरणविद्हरुका तथा स्वास्थ्यकर्मीका अनुसार वातावरण प्रदूषणका कारण काठमाडौं उपत्यकाका अधिकाशं अस्पतालमा बालबालिकाहरु झाडापखलाका, रुघाखोकी, ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटु, फोक्सो, आँखा, छाला जस्ता रोगहरुले ग्रसित भइरहेका मात्र छैनन् की उपचार गर्ने खर्च अभावका कारण अकालमा ज्यान गुमाउन बाध्य भइरहेका छन् ।

उपत्यकालगायत देशका अधिकाशं ठाउँहरुमा भएको वातावरणीय प्रदूषणका कारण ६० प्रतिशत बालबालिकाहरु नसर्ने रोगले ग्रसित भएका छन् । त्यस्तै ४० प्रतिशत बालबालिकाहरु प्रत्यक्ष रुपमा सर्ने रोगले ग्रसित भएको विभिन्न अध्ययनको निश्र्कष छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् २००१ मा काठमाडौं उपत्यकाको जनसंख्या १६ लाख ६५ हजार ९५१ रहेको थियो । त्यस्तै सन् २०११ मा वढेर २५ लाख १० हजार ७८८ पुगेको थियो । यहि अनुपातमा काठमाडौं उपत्यकाको जनसंख्या वृद्धि हुँदै जाने हो भने सन् २०३१ सम्ममा ५७ साल ४४ हजार ९६४ पुग्ने देखिन्छ । यसरी दिनानुदिन जनसंख्या वृद्धिदर उच्च हुनु र उपत्यकाको सहरी व्यवस्थापन कमजोरीका कारण धुवाँधुलो, फोहोर मैलाका कारण वातावरणीय तथा वायु प्रदूषणको मात्रा उच्च विन्दुमा पुगेको छ । यसको असरबाट बालबालिका प्रत्यक्ष प्रभावित भइरहेका छन् ।

कान्ति वाल अस्पतालका अनुसार दैनिक जसो अस्पतालमा ५५० जना देखि ६०० जनासम्म बालबालिका विरामी भई उपचारका लागि अस्पताल आउने गरेका छन् । जसमा २१५ देखि २२० को हाराहारीमा बालिका हुने गरेका छन् भने ३५० देखि ३५५ जना बालक हुने गरेका छन् । त्यसमा सामान्य उपचार पश्चात फर्कनेको संख्या सरदर ३४० देखि ३५० जना रहेको छन् भने ५० देखि ६० जना भने महत्वपूर्ण उपचारको निम्ती अस्पतालमा भर्ना हुने गरेका छन् ।

आर्थिक वर्ष २०७३/७४ को कान्ति वाल अस्पतालको रिपोर्ट अनुसार वातावरणीय प्रदुषणबाट जम्मा ३६६५ बालबालिकाहरु ग्रसित भएका थिए । जसमा श्वासप्रश्वास सम्बन्धी १२७३ जना ग्रसित रहेका छन् भने निमोनियाबाट १०८८ जना प्रभावित भएका थिए । त्यस्तै ज्वरोबाट ३४७ जना प्रभावित भएका थिए भने सबभन्दा कम दमबाट २८ जना प्रभावित भएका थिए । त्यस्तै ५७.७५ प्रतिशत बालकको मृत्यु हुने गरेका छन् भने ४२.२५ प्रतिशत बालिकाको मृत्यु हुने गरेका छन् । त्यसमा ३०.१७ प्रतिशत निमोनियाका कारण मृत्यु हुने गरेको छ भने विभिन्न प्रकारका क्यान्सरका कारण ३६.२२ प्रतिशतको मृत्यु हुने गरेको छ । त्यस्तै ज्वरो तथा अन्य विभिन्न रोगहरुवाट ३३.६१ प्रतिशत बालबालिकाको मृत्यु भएको छ ।

नेपालमा हजारौ बालबालिकाहरु मधुमेह रोगका कारण अकालमा मृत्युको मुखमा पुग्ने गरेका छन् । जसमा कान्ति वाल अस्पतालमा मात्र ७० देखि ८० जनाको हाराहारीमा रहेका छन् । वातावरण प्रदूषणलाई नै हेर्ने हो भने प्रत्येक वर्ष बच्चामा हुने मधुमेह ८ देखि १० जनामा देखा पर्ने गरेको छ । जसमा दुई महिनाको वच्चा देखि १७–१८ वर्ष सम्मका वयस्कहरुमा सुगरको समस्या आउने गरेको छ ।

काठमाडौंमा प्रदूषणको मात्रा मापदण्ड भन्दा दशैं गुणा बढी छ । जसको कारण प्रदूषणको प्रत्यक्ष असरबाट ठूला मान्छे जस्तै साना बालबालिका बढी जोखिममा पर्ने अवस्था आएको हो । कुनै पनि स्वस्थ मानिसलाई दैनिक रुपमा लगभग २५ केजी अक्सिजन आवश्यक हुन्छ । यसमा काठमाडौं उपत्यकामा बसोवास गर्ने मानिसलाई आवश्यक पर्ने अक्सिजनको मात्र कम हुँदै गइरहेको अध्ययनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको ‘प्रदुषित वातावरण रोकथाम २०१६’को प्रतिवेदनअनुसार विश्वमा वातावरण प्रदूषणका कारण मानिसको मृत्यु २३ प्रतिशत हुने गर्छ । प्रदूषण नियन्त्रण गर्न सके जम्मा मृत्युदरमा पाँच वर्ष भन्दा कम उमेर समुहका बालबालिकाको मृत्युदरलाई २६ प्रतिशतले रोक्न सकिने अध्ययनले देखाएको छ ।

बालविशेषज्ञहरुका अनुसार सामान्यतया विकास व्यक्तिको शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक क्षेत्रहरुमा देखिने गुणात्मक र परिणात्मक परवर्तनहरु हुन् । शरीरको विकास अन्तर्गत तौल, उचाई, मोटाई, शारीरिक अनुपात, आदि पक्षहरुमा परिवर्तनहरु देखिनु हुन् भने मानसिक परिवर्तनहरु अन्तर्गत मस्तिष्कको परिवर्तन, बौद्धिक परिवर्तन, समस्या समाधानमा देखिने खुवी आदि परिवर्तनहरु अन्तर्गत पर्दछन् । यसको निम्ती बालबालिकामा आवश्यक पर्ने वातावरण उपयुक्त हुनपर्दछ । वातावरणले सामान्यतया केटाकेटीहरुलाई हुर्काउने, व्यक्तित्व विकासमा प्रभाव पार्ने प्रमुख तत्व नै वातावरण हो ।

वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख तथा सहसचिव यज्ञनाथ दाहालका अनुसार वातावरणका कारण मानिसमा आउने विभिन्न प्रकारका समस्यालाई निराकरण गर्नको लागि वातावरण ऐन २०५३ लाई संशोधनका निम्ती संसदमा छलफलको क्रममा रहेको बताउनु भएकोछ । उहाँका अनुसार प्रदेश सरकारकाले वन, वातावरण लगायतका नीति माग गरिरहेकाले तत्काल वन तथा वातावरण सम्बन्धी कानुनहरु निर्माण हुने बताउनु भएकोछ । प्रमुख दाहालले अनुसार स्वच्छ वातावरणमा वाच्न पाउने अधिकार मानिसको मौलिक हकमात्र नभई संवैधानिक हक कार्यान्वयनको रुपमा यहि असोज ३ भन्दा अघि नै संशोधन हुने बताउनुभएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा शाखा स्वास्थ्य सेवा विभागका प्रमुख डा. माधवप्रसाद लम्सालका अनुसार ‘हाम्रा बालबालिका विद्यालय जाँदा पनि मास्क लगाएरै जानुपर्ने अवस्था छ । यातायातजन्य उत्र्सजन र धुलोको कारण दैनिक प्रदूषणको मारमा पर्दै आएका बालबालिकाहरु प्रायः बिरामी भइरहेको अवस्था पनि छ । पढ्ने उमेरका कलिला बालबालिका बिरामी हुँदा उनीहरुको विद्यालयमा पनि अनुपस्थित हुनुपर्ने हुन्छ । यसको सिधै असर बालबालिकाको शिक्षा, स्वास्थ्यमा पर्ने गर्छ । त्यसैले प्रदूषण नियन्त्रण पहिलो आवश्यकता हो ।’

उपसचिव वुद्धबहादुर गुरुङका अनुसार ‘वातावरण प्रदूषणलाई नियन्त्रण नगरे वर्षेनी धेरै बालबालिकाले ज्यान गुमाउनु पर्ने अवस्था पनि निश्चित छ । “स्वस्थ वातावरण बालबालिकाको अधिकार” सम्वन्धी कानुन निर्माणको प्रक्रियामा रहेकाले यसको कार्यान्वयन जतिसक्दो छिटो गर्ने र बालअधिकारको रक्षा गर्नुपर्ने अवस्था अहिलेको अवस्था हो । वातावरण प्रदूषणको कारण बालबालिकाको स्वास्थ्य अवस्था जोखिममा पर्नु भनेको भोलीको देश नै अस्वस्थ हुनु हो । त्यसैले स्वस्थ र स्वच्छ वातावरण पाउने बालबालिकाको अधिकारको लागि सबै पक्ष र सरोबारवालाहरुको पनि गम्भिर ध्यान जानु जरुरी छ ।’