राजनीति

पन्तको हत्यारा जति ठूलो पावरवाल भए पनि कानुनी कठ्घरामा ल्याउँछौं : सभापति पाल



असोज २६, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ, प्रतिनिधिसभा महिला तथा समाजिक समिति सभापति तथा सांसद निरुदेवी पालले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यामा संलग्न जति ठूलै पावरवाल भएपनि कानुनी कठाघरमा ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा बिहीबार बैतडीको पाटनमा किशोरी तथा महिलाको लागि आयोजना गरिएको आत्मरक्षा तालिमको समापन कार्यक्रममा सभापति पालले तल्कालीन एसपी डिल्लीराज विष्ट र बम दिदिबहिनीमाथि थप अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘जानेर हो वा अन्जानमा होस प्रमाण नष्ट भएको छ । पन्तका परिवारले निर्मला हराएको दिन खोजी गर्न भने पनि तल्काल खोजी नगर्नु पनि प्रहरीको लापरवाही हो । बम दिदिबहिनीको निर्मलाकी आमासँग गरेको व्यवहार हेर्दा उनीहरूमाथि पनि थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’

बैतडीको पाटनमा किशोरी तथा महिलाको लागि आयोजना गरिएको तीनदिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । सञ्चालन भएको तालिममा ३०० बढी किशोरीहरूको सहभागिता रहेको थियो । तालिममा आफ्नो सुरक्षाका लागि किशोरीले अपनाउनुपर्ने आधारभूत सीपका विषयमा प्रशिक्षण दिइएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले किशोरी तथा महिलामाथि समाजमा विभिन्न खालका हिंसा भइरहेकाले त्यस्ता हिंसाको न्यूनीकरणका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।