राजनीति

भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्न चाडपर्वको महत्वपूर्ण भूमिका : सांसद बस्नेत



कार्तिक २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली सवै चाडपर्वहरुले भाइचारा, मेलमिलाप, सुसम्बन्धलाई कायम गर्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको छ ।

सांसद बस्नेतले आज नेपालीहरुको महनपर्व विजया दशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्यका साथ सवै नेपालीहरु एक ढिक्का भई समृद्ध नेपाल र सुखी नेपाली बनाउन लाग्नुपर्ने उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देश दिँदै उहाँले भन्नुभएको छ, ‘विविध भाषा, संस्कृति, परम्परा र विभिन्न स्थानमा रहेका नेपालीबीच भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्ने माध्यम बनेकोले चाडपर्व सामाजिक र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको छ ।

उहाँले शुभकामना सन्देश दिदैँ राष्ट्र र राष्ट्रियताको पक्षमा सवै नेपालीहरु गोलवन्द भई देश विकासमा लाग्नु अपरिहार्य भएको उल्लेख गर्नुभएको छ । उहाँले लाखौं नेपालीहरुको श्रम र पसिना विदेशको मरुभूमिमा बेचिने बाध्यतालाई अन्त्य गर्नु वर्तमान सरकारको मूख्य कार्य रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘ स्थानीय तह, प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक संस्थाहरु क्रियाशील भई देश राजनीतिक सङ्क्रमणकालको चरण पार गरेर सामाजिक–आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको छ अव त्यो रोकिन्न, निरन्तर अघि वढ्छ ।’