खर्च विवरण नबुझाएका बाँकेका चार स्थानीय तहको बजेट निकासा रोक्का भएको छ । गत आर्थिक वर्ष सकिएको दुई महिना बिति सक्दा समेत जिल्लाका चार स्थानीय तहले खर्च विवरण नपठाएपछि कोहलपुर नगरपालिका, राप्तीसोनारी, जानकी र डुडुवा गाउँपालिकाको बजेट रोक्का गरिएको छ । काराेबार दैनिकमा खबर छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका कोष नियन्त्रक शम्भुराज आचार्यले आर्थिक वर्ष २०७४–७५ सकिएको एक साताभित्र खर्चको फाँटबारी पठाउनुपर्ने प्रावधान रहेको, तर जिल्लाका केही स्थानीय तहले खर्च विवरण नपठाएकाले खाता रोक्का भएको बताए । ‘पटक–पटक ताकेता गर्दासमेत खर्चको फाँटबारी पठाउन विलम्ब गरेपछि नीति, नियममा टेकेर रकम निकासा रोकेका छौँ,’ कोष नियन्त्रक आचार्यले भने ।
खर्चको फाँटबारी नबुझाउने स्थानीय निकायलाई १० देखि १२ पटक परिपत्र गरिएको उनको भनाइ छ । उनले स्थानीय तहलाई पूर्वसूचना दिएर बजेट रोक्का गरेको बताए । ‘यति दिन भित्र फाँटबारी नपठाए बजेट निकासा गर्न नसकिने जानकारी पहिले नै गराएका छौँ,’ उनले भने । आर्थिक वर्ष ०७५–७६ को बजेट चारवटा स्थानीय तहलाई भने निकासा गरिसकिएको छ । बाँकेका स्थानीय तहले सरकारले दिएको बजेट खर्च गर्न नसकेपछि केही बजेट फ्रिज भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले सरकारबाट प्राप्त बजेट अनुसारको योजना तथा कार्यक्रम बनाए पनि प्राप्त रकम खर्च गर्न नसक्दा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्