कात्तिक १२ काठमाडौ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाका सम्पदा पुर्न-निर्माणले गति लिन थालेको छ ।
हनुमानढोका नजिकैको कुमारीघर र काष्ठमाण्डपकै आसपासमा माजु देवलको आज पुर्ननिर्माण कार्य शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब काठमाडौँका सम्पदा पुर्ननिर्माणले गति लिने बताउनुभयो ।
उहाँले सबै प्रक्रिया पूरा गरेर माजु देवल दुई वर्षभित्रमा सक्ने गरी ठेक्कामा दिएको जानकारी समेत दिनुभयो । ‘हामीले भूकम्पले भत्किएका सम्पदा आफ्नै खर्चमा बनाउने भन्दै आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘हामीले यस अघि नै काष्ठमाण्डप पुर्ननिर्माण महानगरपालिककै खर्चमा गर्ने भनेर काष्ठमाण्डप पुननिर्माण समितिलाई पुर्ननिर्माणका लागि पाँच करोडको चेक हस्तान्तरण गरिसकेका छौँ ।
अब माजु देवल पनि हाम्रै खर्चमा बनाउँछौँ । उहाँले महानगरपालिका भित्रका सम्पदा पुर्ननिर्माणमा कसैसँग सहयोग नमाग्ने पनि दाबी गर्नुभयो । ‘हामीलाई पैसाको कुनै समस्या छैन,’ उहाँले भन्नुभयो, ‘काम समयमा सम्पन्न हुनुपर्यो ।’ उहाँले सम्पदा पुर्नःनिर्माणको कामले अब गति लिने भन्दै ठकेदार कम्पनीलाई पनि निर्धारित समय अघि नै काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले आफ्नो दायित्वभित्र रहेका धेरै काम गर्दै आएको छ । त्यसमध्ये काष्ठमाण्डप पुर्ननिर्माणको काम अहिले धमाधम भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘माजु देवलको कामलाई आज सुरुवात गरेका छौँ । यसको कार्यावधी जम्मा दुई वर्षको हो । हामी र पुरातत्व विभागले गर्ने प्रशासनिक, आर्थिक र प्राविधिक काम सबै सम्पन्न गरेर आज शुभारम्भ गरेका हौँ ।
यो कामलाई सम्पन्न गर्ने जिम्मेवारी ठेकेदारको हातमा छ ।’ उहाँले ठेकेदारले समयमा काम सम्पन्न नगर्दा महानगरपालिकाले गालि खानु परेको पनि स्मरण गराउनुभयो । ‘हिजो जे–जस्तो अवस्था रहे पनि अब त्यस्तो हुँदैन,’ उहाँले ठेकेदारप्रति लक्षित गर्दै भन्नुभयो, ‘अबका दिनमा हामीले त्यस्तो सुन्नु नपरोस् ।’ उहाँले माजु देवल, काष्ठमाण्डप पुर्ननिर्माणको काम कुना–काप्चाको नभएको सबैको धार्मिक आस्थाको देवल भएकाले पनि सबैले देख्ने हुनाले निर्धारित समयमा सम्पन्न गर्नुपर्ने दायित्व सबैको रहेको बताउनुभयो ।
उहाँले काठमाडौँ महानगरपालिका भित्र अमूल्य सम्पदा रहेका भन्दै त्यसको संरक्षण र पुर्ननिर्माणको दायित्व पनि महानगरपालिकाकै रहेको बताउनुभयो । उहाँले अहिले पनि महानगरपालिकाले सम्पदा पुर्ननिर्माणसँगै भित्री सहरमा बाटो पिच गर्ने, कतै ढलान गर्ने, ब्लक र ढुंगा छाप्ने जस्ता काम गरिरहेको जानकारी दिनुभयो । उहाँल महानगरपालिका भित्रका चार ओटा वडा बाहेक अन्य वडामा साना–साना मन्दिर पुर्ननिर्माण गर्नेलगायतका कामलाई अघि बढाएको पनि जानकारी दिनुभयो ।
माजु देवल पुर्ननिर्माणका लागि भ्याट र कन्टिजेन्सीबाहेक ५ करोड ८८ लाख २४ हजार ३६५ रुपैयाँ ९७ पैसा लागत अनुमान गरिएको थियो । यसमा प्रतिस्पर्धाबाट प्राकृतिक सानु सुवाल जेभि (संयुक्त उपक्रम) ले भ्याटबाहेक ५ करोड ४९ लाख ३५ हजार २०६ रुपैयाँ ९७ पैसामा निर्माण कवोल गरेर सम्झौता गरेको महानगरपालिकाले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्