कार्तिक १३, भक्तपुर । काठमाडौँ उपत्यकामा खानेपानीको हाहाकार भइरहेको समयमा भक्तपुरमा खानेपानी समस्या समाधान हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा खानेपानी विभागसँग काठमाडौमा भएको छलफलमा मेलम्ची, आशापुरी तथा स्थानीय खानेपानी स्रोतको माध्यमबाट भक्तपुरको सूर्यविनायक, चाँगुनारायण नगरपालिका लगायतका स्थानमा खानेपानीको व्यवस्था गर्न विभिन्न योजनाहरुको डिपिआर गर्ने प्रकृया तत्काल अघि बढाइने भएको छ ।
विभागले चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा खानेपानी नपुगेका स्थानमा डिपिआर गर्न ४० देखि ५० लाख रकम तत्तकालै उपलब्ध गराउने जनाएको छ । डिपिआर सम्पन्न भए पश्चात टेण्डर आव्हान गरी निर्माणको प्रकृया अघि बढाई खानेपानी समस्याको समाधान गर्ने विभागले जनाएको छ ।
खानेपानी समस्या समाधानकै लागि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० सूर्यमोडमा रहेको एक स्थान र महादेव खोला मुहान पोखरीमा ड्याम्प बनाउने बारेमा समेत व्यापक छलफल भएको छ । उक्त दुई स्थानमा ड्याम्प बनाउन सफल भएमा भक्तपुर जिल्लाको लागी मात्र नभई काठमाडौं उपत्यकावासीलाई नै खानेपानी समस्या समाधान गर्ने अर्को विकल्पको रुपमा लिइएको छ ।
विभागका महानिर्देशक तेजराज भट्टले विभागले खानेपानी व्यवस्थानको लागि आवश्यक कदम चाल्न कुनै कन्जुस्याई नगर्ने भन्दै भक्तपुरमा खानेपानीबाट बञ्चित हुनु नपर्ने बताउनुभयो । उहाँले उक्त स्थानको खानेपानी व्यवस्थापनको लागि आवश्यक आर्थिक तथा प्राविधिक कुराहरुको समस्या उत्पन्न हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्देशक भट्टले सरकारले कार्यालय स्थापना गर्न नसक्दा कामलाई तिव्रता दिन कठिनाई भइरहेको गुनासो व्यक्त गर्नुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले उक्त दुई ड्याम्प (बाँध) निर्माणको वारेमा मन्त्रालयमा आवश्यक छलफल गरी समस्या समाधानको बाटो खोजीने बताउनुभयो । उहाँले मेलम्चीको खानेपानी जनताको घर दैलोमा पुर्याउन दु्रतगतिमा कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै कतिपय स्थानमा निर्माण भइरहेका खानेपानीको टेङ्कीबाट भौगोलिक कठिनाईका कारण बस्तीमा पुग्न नसक्ने भएकाले पानी तान्ने उपकरण (पम्प)को माध्यमबाट पुर्याउनु पर्नेमा सांसद बस्नेतले जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्