Banner News

‘शान्ति र समावेशी’ अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च : मन्त्री ज्ञवाली



कात्तिक २०, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका– २८ कमिटीले दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको बताउनुभयो ।

अफगानिस्तान, दक्षिण सुडान, म्यानमालगायत मुलुकका उच्चस्तरीय प्रतिनिधि नेपाल आएर यहाँको शान्ति प्रक्रियाबारे अध्ययन गरेर गएको भन्दै उहाँले पछिल्लो समयमा नेपालले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलितरूपमा सुधार गरेको बताउनुभयो ।

राष्ट्र र राष्ट्रियताको पक्षमा वर्तमान सरकार आर्थिक समृद्ध सहित सामाजिक रुपान्तरणमा लागेको बताउँदै मन्त्री ज्ञवालीले जनताको पक्षमा रहेका विकासमा सरकारले कसैसँगै कुनै पनि प्रकारको सम्झौता नगर्ने बताउनुभयो । उहाँले वर्तमान अवस्थामा देशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने भन्दै त्यसकालागि सरकारले रोजगारीमूलक नीति तथा कार्यक्रमका साथ अघि बढिरहेको समेत दावि गर्नुभयो ।

सङ्घीय संरचना भर्खरै बनेकाले सरकारले छोटो समयमा जनताका सबै अपेक्षा पूरा गर्न नसकेको मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर काम भइरहेको बताउनुभयो ।