समाचार

प्रहरी रिपोर्ट प्रदेशबाटै पाइने : अनलाइन सेवा प्रदान गर्ने



कात्तिक २०, काठमाडौँ । नेपाल प्रहरीले विदेश जान चाहिने प्रहरी रिपोर्ट अब विभिन्न केन्द्र र प्रदेशबाटै पाइने तथा अनलाइन सेवाबाट फारम भर्न सक्ने व्यवस्था गर्ने भएको छ ।

प्रहरी रिपोर्ट छिटो र सहज रुपमा उपलब्ध गराउन अहिलेलाई विभिन्न केन्द्र र प्रदेशबाटै उपलब्ध गराइने र छिट्टै अनलाइन सेवा समेत प्रदान गर्ने तयारी गरिएको प्रहरीले जनाएका छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएको, छिटोछरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा इमेलबाटै आवेदन लिने र इमेलबाटै रिपोर्ट दिने प्राविधिक तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानिरीक्षक भएसँगै उपत्यकामा प्रहरी रिपोर्ट दिने चार ठाउँ थप गरेका थिए । अहिले काठमाडौँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, कालिमाटी, गौशाला, महानगरीय प्रहरी परिसर भक्तपुर र परिसर ललितपुर तथा सातै प्रदेशबाट प्रहरी रिपोर्ट लिने व्यवस्था छ ।