काठमाडौं, ३ मंसिर । महेन्द्र शान्ति मावि बालकोटको व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष, विकास क्लव बालकोटका संस्थापक सदस्य शिक्षासेवी तथा समाजसेवी हेमन्तकुमार कार्कीलाई पूर्व प्रधानन्यायधिश एवम् मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले सम्मान गर्नुभएको छ ।
नेपाल टाइगर साप्ताहिक पत्रिकाको २७ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक विशेष कार्यक्रममा मन्त्रीपरिषदका पूर्व अध्यक्ष रेग्मीले शिक्षासेवी कार्कीलाई खादा र ताम्रपत्रद्धारा शिक्षासेवी कार्कीलाई सम्मान गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्व शिक्षासेवी कार्की महेन्द्र शान्ति मावि बालकोटमा अध्यनरत जेहेन्दार तथा निम्न आय भएका विद्यार्थीहरुलाई छात्रवृत्ति दिने उद्धेश्यले गतवर्ष स्थापना गरिएको ‘स्व.कृष्णबहादुर कार्की, स्व.हीराकुमारी कार्की तथा स्व.अर्जुन कार्की छात्रवृत्ति कोष’ का संस्थापक अध्यक्ष हुनुहुन्छ । पाँचलाख रुपैयाँबाट उहाँले सो अक्षयकोष स्थापना गर्नुभएको हो ।
यसैवर्ष शिक्षासेवी कार्कीले सो अक्षयकोषबाट विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न कक्षाका ३ दर्जनभन्दा बढी विद्यार्थीलाई नगद छात्रवृत्ति उपलब्ध गराउनुभएको थियो ।
उहाँले बालकोटको शिक्षा विकासको लागि विशिष्ट भूमिका निभाउँदै आएको महेन्द्र शान्ति माविका प्रधानाध्यापक गोपाल विक्रम थापा बताउनुहुन्छ । शिक्षासेवी कार्कीका साथै मन्त्रीपरिषदका पुर्वअध्यक्ष रेग्मीले समाजमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरुलाई पनि सो अवसरमा सम्मान गर्नुभएको थियो ।
रेग्मीबाट सम्मानित हुने अन्य व्यक्तित्वहरुमा वरिष्ठ पत्रकार अरविन्दनाथ रिमाल, साहित्यकार कमला कुँवर, सुतार कार्की सेवा समितिका राष्ट्रिय अध्यक्ष दिव्यध्वज कार्की, एनसिसिएनका पूर्व महाप्रवन्धक इन्जिनियर विन्देश्वरलाल यादव, सफाइ अभियन्ता तथा संस्कार नेपालकी अध्यक्ष पशुपति गुरुंग,धानवाली विशेषज्ञ भोलामानसिंह बस्नेत, प्रा.डा विश्वराज जोशी, बझांगका पत्रकार खड्क बहादुर विष्ट, अधिवक्ता सविता भण्डारी, इन्जिनियर रेवन्तकुमार बस्नेत र वैदेशिक रोजगार व्यवसायी केबि खत्री हुनुहुन्छ ।










प्रतिक्रिया दिनुहोस्