विश्व

रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित



एजेंसी, १० मंसिर । रुसले क्रिमियाली प्रायद्वीप नजिकै युक्रेनको तीनवटा नौसैनिक जहाज कब्जा गरेको छ  ।

दुई गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लिएपछि दुई देशबीचको तनाव थप चुलिए बीबीसीले जनाएको छ ।

रुसले युक्रेनको जहाज अजोभ सागरमा गैरकानूनी ढङ्गले आफ्नो जल सीमामा छिरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो । रुसले कर्च स्ट्रेट भनिने ब्ल्याक सी (कृष्ण सागर) लाई सी अफ अजोभ (अजोभ सागर) सँग जोड्ने साँघुरो जलमार्गमा रहेको पुलमुनि ट्याङ्कर राखिदियो ।

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले देशको नेशनल सेक्युरिटी एण्ड डिफेन्स काउन्सिलको बैठकमा रुसको करवाहीलाई सनकले भरिएको कदम बताएका छन् । संसदलाई सैनिक कानून लगाउन आग्रह गर्ने बताएका छन् । युक्रेनको सांसदले आज सैनिक कानून लगाउने बारे भोट गर्नेछन् ।