भक्तपुर, १२ मङ्सिर । पछिल्लो समयमा आफ्नो जन्मदिन केक काटेर, मदिरा भोज गरेर मनाउने विकृति बढीरहेको समयमा बालकोटका शिक्षा सेवी एवम् समाज सेवी हेमन्तकुमार कार्कीले भने असहायहरुसँग खुसी बाँड्दै आफ्नो जन्मदिन मनाएर उदाहरणीय कार्य गरेका छन् ।
बालकोट स्थित महेन्द्र शान्ति मावि व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कार्की शिक्षा विकासको लागि समर्पित व्यक्ति हुन ।
१० मंसीर सोमबार ६६ वर्ष पुरा गरि ६७ वर्षमा प्रवेश गरेको अवसरमा समाजसेवी कार्कीले चाँगुनारायण नगरपालिका वडा नं ७ यातु महादेवस्थान बागेश्वरीमा रहेको मानव कल्याण समाजसेवा घरमा गएर त्यहाँ आश्रीत असहाय, अशक्त, अपांग, जेष्ठ नागरिक, दीन दुःखी र अनाथ वालवालिकासँग खुसी साटासाट गरि मनाएका थिए ।
धर्मपत्नि देवकी कार्कीसँग त्यहाँ पुगेका कार्कीले सो सेवा घरमा आश्रीत ३२ जनालाई भोजन गराउनुका साथै उनीहरुको सरसफाईको लागि केही थान शरीर पुछ्ने तौलिया (ठूलो रुमाल) र साबुन पनि वितरण गरेका थिए । बालकोटकै स्थानीय युवा प्रदिप कार्कीले समाजसेवी कार्कीको जन्मदिन मानव कल्याण समाज सेवा घरमा मनाउने कार्यको पहल गरेका थिए ।
युुवा समाजसेवी सुमित्रा चौलागाईद्वारा सञ्चालित सो सेवा घरमा घरवार, परिवारवीहिन, अशक्त, अपांग, एकल, पीडित महिला तथा पुरुषका साथै अनाथ वालवालिका र जेष्ठ नागरिक बस्दै आएका छन ।
सडकमा वेवारिसे अवस्थामा भेटिएका त्यस्ता दीनदुःखीलाई उद्धार गरेर समाजसेवी चौलागाईले सो सेवा घरमा ल्याएर आश्रय दिइराखेकी छिन् । विभिन्न समाजसेवीहरुको सानोतिनो सहयोगबाट संस्था सञ्चालन भईराखेको संस्थाकी अध्यक्ष चौलागाईले बताएकी छिन् ।










प्रतिक्रिया दिनुहोस्