शैक्षिक

काव्य स्कुलमा सार्कका शिक्षावीद्



दक्षिण एशियाली मुलुक (सार्क) का शिक्षा मन्त्रालय, शिक्षा विभागका वर्तमान तथा पुर्वअधिकारीहरुका साथै शिक्षावीद्हरुले मंगलबार काव्य स्कुल नयाँबानेश्वरको स्थलगत भ्रमण गरि त्यहाँको शिक्षण विधिबारे जानकारी लिएका छन् ।

भुटान सरकारको पूर्वशिक्षामन्त्री ठाकुर एस.पौड्याल, पाकिस्तानका गुल मोहम्मदका साथै भारत, बंगलादेश र श्रीलंकाका अधिकारीहरु र शिक्षावीद्हरु सो टोलीमा सहभागी रहेको काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले बताउनुभयो ।

दक्षिण एशियाली मुलुकका नीजि तथा सामुदायीक विद्यालयको शिक्षण विधि, शैक्षिक आयाम, कमीकमजोरी र अध्ययन अध्यापनका क्रममा भोग्नुपरेका समस्या र चुनौतिका बारेमा अध्ययनका लागि नेपाल आएको टोली नयाँबानेश्वरको नीजि विद्यालय, काव्य स्कुलमा पुगेको हो ।

टोलीलाई काव्य स्कुललाई संस्थापक प्रिन्सिपल बास्कोटाले स्वागत गर्दै विद्यालयले अपनाएको शिक्षण विधि, अतिरिक्त कृयाकलाप, विभिन्न सामाजिक कार्यमा विद्यार्थी र विद्यालयको सहभागिताका साथै विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको ख्यातीका बारेमा जानकारी गराउनुभएको थियो ।

वालअधिकारको संरक्षण गर्दै वालवालिकाको पढ्न र खेल्न पाउने अधिकारलाई सुनिश्चित गर्दै काव्य स्कुलले विद्यार्थीहरुलाई गृहकार्य दिने गरेको छैन । सबै विद्यार्थीलाई सक्षम र हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका ग्रहणकर्ता (लीडर) बनाउनु काव्य स्कुलको उद्धेश्य रहेको छ ।

विभिन्न सामुदायीक विद्यालयलाई समेत शैक्षिक सहयोग गर्दै सामाजिक उत्तरदायीत्व समेत निर्वाह गर्दै आएको काव्य स्कुल स्थापनाको एक दशकमै मुलुकको स्थापित अग्रणी विद्यालयको रुपमा देखिएको छ ।