राजनीति

विकास, समृद्धि र घरघरमा रोजगारीका लागि तयारी हुँदै : मन्त्री पुन



वीरगञ्ज, २८ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकास, समृद्धिका साथ साथै घरघरमा रोजगारीको लागि तयारी तथा छलफलहरु व्यापक रुपमा अघि बढिरहेको बताउनुभएको छ ।

वीरगञ्जमा बिहीबार आयोजित नारायण सिँचाइ आयोजना सम्बन्धी कार्यक्रममा मन्त्री पुनले वर्तमान सरकारको अन्तिम लक्ष्य नै विकास र समृद्धि भएकाले यसलाई साकार पार्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आवश्यक कदम चालिएको बताउनुभयो । उहाँले नेपाल जलस्रोतको विश्वको दोस्रो धनि मुलुक भएको बताउँदै देशको आर्थिक विकासको रुपमा विद्युतलाई व्यापक विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गरिने योजना सरकारको योजना रहेको जानकारी गराउनुभयो । देशबाट अरबौं रकम ग्यास, डिजेल, पेट्रोल लगायतको खरिदमा नै अन्यत्र मुलुकमा गएको बताउँदै त्यसलाई उपयुक्त विकल्प सहित उक्त रकम बाहिर जानबाट रोक्नुपर्ने बताउनुभयो ।

५० लाख युवा विदेशमा रोजगारीमा रहेको बताउँदै मन्त्री पुनले स्वदेशमा रोजगारी सिर्जना गरेर युवालाई स्वदेश फर्काइने बताउनुभयो । अब देशभित्र नै समृद्धि, औद्योगीकरण, रोजगारी सिर्जना गर्ने बाटोमा सरकार लागि परिरहेको बताउनुभयो ।

मन्त्री पुनले दीगो विकास लक्ष्य पूरा गर्न आगामी सन् २०३० सम्म सबै नेपालीलाई आधुनिक, विद्युतीय उर्जाको पहुँचमा पु¥याउनुपर्ने भएपनि आगामी ३ वर्षमै विद्युत् विस्तार हुने गरी काम भइरहेको बताउनुभयो ।