काठमाडौँ, ५ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारी समायोजनमा सरकारले कसैलाई काखा र कसैलाई पाखा नगरेको बताउनुभएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अध्यादेशका प्रावधानका विरुद्धमा कर्मचारीले आन्दोलन, धर्ना तथा जुलुसजस्ता कार्यक्रम गर्नुको औचित्य नरहेको बताउनुभयो । त्यस्तै उहाँले कर्मचारीको गुनासो सम्बोधन गर्न गुनासो सुनुवाइ समिति गठन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीले अनुमानको भरमा सेवा, सुविधा यस्तो, त्यस्तो भनेर धर्ना, जुलुसमा उत्रिनुको कुनै अर्थ छैन ।”
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घअन्तर्गत ४६ हजार, प्रदेशमा २२ हजार र स्थानीय निकायअन्तर्गत ५८ हजार कर्मचारी समायोजन हुनेछन् ।
मन्त्री बाँस्कोटाले सङ्घ, प्रदेश र स्थानीय निकायकाबीचमा सङ्घीयता कार्यान्वनका लागि सहजीकरण गर्न २९ बँुदे कार्ययोजना तयार भई कार्यान्वयन शुरु भएको जानकारी दिनुभयो ।
हिउँदे सङ्घीय संसद्को बैठकलाई विधेयक अधिवेशन बनाउन सरकारले सङ्घीय संसद् सचिवालयमा विभिन्न १२ विधेयक दर्ता गराएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले अधिवेशनमा संविधानसित बाँझिएका कानूनलाई संशोधन गरी पेश गर्ने छ भन्नुभयो ।
उहाँले भन्नुभयो “राष्ट्रपति पदको गरिमा उच्च छ । यसलाई अनावश्यकरुपमा विवादमा ल्याउने काम कही कतैबाट गरिनु हुन्न । राष्ट्रपतिलाई मात्र उडान अवतरण गर्न सरकारले हेलिकप्टर खरीद गर्न लागेको होइन, यो त विशिष्ट व्यक्तित्व, आपतकालीन अवस्थाका लागि पनि हो ।”










प्रतिक्रिया दिनुहोस्