कालिकोट पाखाका सन्तोष मल्ल सुर्खेत झरेको एक महिना भयो। कक्षा १० मा पढ्ने उनी एसईई तयारी गर्न यहाँ आएका हुन्। परीक्षामा राम्रो अंक ल्याउने उनको सपना छ।
घरको आर्थिक अवस्था खासै गतिलो छैन। तर, ऋणसापटी गरेर उनी आएका छन्। ‘कालिकोटमा ट्युसन पढ्ने ठाउँ छैन,’ सन्तोष भन्छन्, ‘जति खर्च भएपनि राम्रो नम्बर ल्याउन त ट्युसन नपढी सुखै छैन।’
एसईई परीक्षा आउन दुई महिनामात्रै बाँकी छ। सुर्खेतमा मात्र होइन, कर्णाली प्रदेशका सहरबजारमा खचाखच विद्यार्थी छन्। ट्युसन नपढी राम्रो नतिजा ल्याउन सम्भव नहुने भएकाले उनीहरु सहर पसेका हुन्।
गाउँका अधिकांश विद्यार्थीको आर्थिक अवस्था कमजोर छ। तर सहरको ट्युसन सेन्टर धाउनु उनीहरुका लागि अनिवार्य नै भएको छ। ट्युसनको लहर देखासिकीजस्तो लाग्न सक्छ।
तर, यो ग्रामीण क्षेत्रका विद्यार्थीको बाध्यता हो। ‘स्कुलमा राम्रोसँग पढाइ नै हुँदैन। पढाइ नियमित नहुँदा कोर्स सकिँदैन,’ सन्तोष भन्छन्,। उनले जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी ट्युसनका लागि झरेको मल्लले बताए।
कर्णालीका लगभग सबै सामुदायिक स्कुलमा पाठ्यक्रम पूरा पढाइँदैन। त्यसैले विद्यार्थी ट्युसनमा महंगो शुल्क तिर्न बाध्य छन्। डोल्पाकी देविका रोकाया पनि एक महिनादेखि सदरमुकाम दुनैमा बसेर ट्युसन पढिरहेकी छन्।
‘हुने खानेहरु सुर्खेत, नेपालगन्ज गएर पढ्छन्, हामी यहीँ सदरमुकाममै डेरा लिएर बस्छाँै,’ उनले भनिन्, ‘सरहरुले कहिल्यै पूरा किताब पढाउनुहुन्न। बचेको कोर्स ट्युसनमा पढौंला भन्नुहुन्छ।’
कर्णालीका सबै विद्यार्थीका लागि तीन विषयको अतिरिक्त कक्षा अनिवार्य नै हो। सुर्खेत सदरमुकामभित्रका विद्यालयमै अतिरिक्त कक्षा संचालन भएपनि ग्रामीण क्षेत्र र अन्य जिल्लामा ट्युसन कक्षा लिएर विद्यार्थीले पढाइको कमी पूरा गर्छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।










प्रतिक्रिया दिनुहोस्