काडमाडौँ, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताहरु आक्रान्त बनेको खानेपानी तथा वातावरणको समस्या तत्कालै समाधान गर्दै उक्त समस्यालाई इतिहासमा समेट्ने बताउनुभएको छ ।
आज ललितपुरको बालकुमारीमा उपत्यका खानेपानी आयोजनाद्वारा आयोजित फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपालमा हरेक दिन विकास निर्माणमा एक पाइला अघि बताउँदै २७ वर्षसम्म चिप्ले किराको तालमा काम अघि बढेको मेलम्चीको कामलाई पछिल्लो एक वर्षमा द्रुत गतिमा अघि बढाई जनतालाई खानेपानीको आक्रान्तबाट मुक्त गराउने कार्यमा सरकार गम्भीरताका साथ लागि परिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मानिसको स्वच्छ वातावरण तथा खानेपानी पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकावासीलाई पिउन पाउने गरी तिव्र गतिमा काम भइरहेको जानकारी गराउनुभयो । उहाँले केही समय ढिला हुन सक्ने तर आयोजना समयमा नै सम्पन्न गराउने बताउँदै २७ वर्षमा भएको कामलाई २७ महिनामा सम्पन्न गराउने महत्वकाक्षि लक्ष्यका साथ सरकार अघि बढिरहेको समेत बताउनुभयो ।
सरकार जनताको समस्यामा जानकार भई अघि बढेको बताउँदै प्रधामन्त्री ओलीले जनताको विकास निर्माण प्रतिको दुखाईको उपचार गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाएरै छोड्ने उद्घोष गर्नुभयो । उहाँले परिवर्तन हाम्रै पालामा सम्भव भएको बताउँदै प्रविधि तथा आर्थिक वृद्धिदरलाई बढाउँदै जानुपर्नेमा जोड दिनुभयो ।
प्रधामन्त्री ओलीले भन्नुभयो, ‘कतिपयले सत्य कुरा लुकाउन खोजेका छन्, त्यो सत्य कुराको लुकाई धरै दिन टिक्दैन । विकास र समृद्धि नचाहने तत्वहरु परास्त हुँदै जान्छन् ।’
प्राकृतिक रुपमा नेपाल विश्वकै धनि रहेको बताउँदै नेपालको प्रकृतिमा विश्वको कुनै पनि देशलाई तुलना गर्न नसकिने बताउनुभयो । उहाँले विकास निर्माणका कार्यमा कसैले दिन्छकी भन्दै आशा गर्नुभन्दा पनि कसैका आशा र भरोसामा मात्रै विकास निर्माणका कार्यहरु गर्ने प्रकृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालले भारतमा बग्ने गङ्गामा हिउँको समयमा ७२ प्रतिशत र वर्षायामको समयमा ४० प्रतिशत नेपालबाट पानी गई विहार र उत्तर प्रदेशलाई मरुभुमि हुनबाट बचाएको समेत जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्