राजनीति

‘कर्मचारी व्यवस्थापन’ अवसर र जिम्मेवारीको समेत बाँडफाँट : मन्त्री पण्डित



काठमाडौँ, २० पौष । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नागरिकलाई स्थानीय तहमा नै सहजरूपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ कर्मचारी व्यवस्थापन गर्न लागेको भन्दै अवसर र जिम्मेवारीको समेत बाँडफाँट गरेर काम गर्ने संस्कार बसाल्न लागिएको बताउनुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्री पण्डितले सबै कर्मचारीलाई सहजरूपमा सेवा सुविधा तथा वृत्ति विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको जानकारी गराउनुभयो । उहाँले आधिकारिक ट्रेड युनियनसँग पनि समायोजनका बारेमा छलफल भएको र उहाँहरूले पनि सहमति जनाएको जानकारी गराउनुभयो ।

मन्त्री पण्डितले प्रदेश र स्थानीय तहसँग जोडिएका अन्य कानूनसमेत छिट्टै सदनमा प्रस्तुत गर्ने जानकारी दिनुभयो । राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।