समाचार

एकै व्यक्तिको ३ वटा नागरिकतासहित पक्राउ



काठमाडौं, २४  पौष । ३ वटा नागरिकता भएको १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न नाममा तीनवटा नागरिकता लिएर ठगी गर्दै हिँडेको कैलाली धनगढीका वासुदेव मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नारायणटार आर्याल गाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मैनालीले एउटा आफ्नै नामबाट नागरिकता बनाएका छन् भने अरु दुई वटा शिवराम पौडल र रामचन्द्र शर्माको नामबाट लिएका छन् । साथै नागरिकतामा सिरियल नम्बरसहित अन्य विवरणहरु पनि दुरुस्तै रहेको प्रहरीले जनाएको छ ।

मैनालीले पसलहरुमा सामान लिएर गई विभिन्न स्थानबाट फरकफरक नाममा गरी ४० लाखभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको गोदामबाट फ्रिज, टेलिभिजन, जेनेरेटर, विदेशी ब्रान्डका मदिरासहित गरी करिब १५ लाखको बराबरको सामान पनि भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मैनालीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।