चितवन, २८ पौष । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले आगामी पाँच वर्षसम्ममा देशको मुहार फेर्नेमात्र नभई विकास र समृद्धिमा कायापल गरेर देखाउने उद्घोष गर्नुभएको छ ।
भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकमा बोल्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘पाँच वर्ष टिक्छ भनेर धेरैको पेट पोलिरहेको तर सरकारले पाँच वर्षभित्रै कायापलट गरेर देखाउँछ ।’
सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गर्दै उहाँले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताउनुभयो । कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन भन्दै उहाँले नयाँ राज्य व्यवस्थामा कानून र संरचना नबन्दा समस्या भएको बताउनुभयो ।
उहाँले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानूनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको जानकारी गराउनुभयो । उहाँले फागुनभित्रै कानून निर्माण गरिसक्ने गरी सरकारले काम गरिरहेको समेत जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्